.jpg)
नयाँ वर्षको अवसर पारेर यही शुक्रबारबाट तीन फिल्म प्रदर्शन हुँदैछन् । त्यसमध्ये एक हो, जारी प्रथामाथि बनेको फिल्म ‘बुलाकी’ । ट्रेलरदेखि पोस्टरसम्मले बटुलेको सकारात्मक प्रतिक्रियाको फाइदा फिल्मको व्यापारमा हुने विश्वासमा निर्माण टिम छ । तर, फिल्मले अन्य दुई फिल्मको तुलनामा मल्टीप्लेक्सहरुमा अत्यन्त न्यून शोज पाएको छ । यसबाट फिल्मको निर्माण टिम खुसी छैन ।
फिल्मका निर्माता विराज विष्ट ‘बुलाकी’लाई अघोषित निषेध गरिएको गुनासो गर्छन् । उनी फेसबुकमा लेख्छन्, ‘वर्षौंदेखि यो क्षेत्रमा सक्रिय रहनुभएकाहरूबाट अन्तिम समयमा पाएको व्यवहार र अघोषित निषेधले उत्साहसहित आउने मजस्ता नयाँ निर्मातामा निराशा छाउने अनुभूति गरेको छु ।’ फिल्म क्षेत्रको बारेमा सुन्दै आएका कुरा आज आफैंले भोग्दा सत्य लागेको उनको भनाई छ ।
करोडौं लगानी गरेर हलसम्म आउँदा हल सञ्चालक, वितरक र सम्मानित चलचित्रकर्मीले रिलिजमा देखाएको ‘सिण्डिकेट’ले कहीँ कतै निराश बनाएको विष्टको अनुभूति छ । फिल्मको विषयवस्तु र कलाकारको प्रस्तुति नै नहेरी नयाँ मेकर भन्दै मनोमानी रुपमा शोज उपलब्ध गराउनु र उपलब्ध शोजमा पनि उल्लेख भएको समयप्रति आफ्नो चित्त दुखाई रहेको निर्माता विष्टले बताएका छन् ।
उनी प्रश्न गर्दै भन्छन्, ‘उत्साहलाई निराशामा परिणत गराउने यो कस्तो इन्डस्ट्री ? अत्याधिक शोजको आशा हाम्रो पक्कै पनि थिएन तर फिल्मको पहिलो पोस्टरदेखि टिजर ट्रेलर हुँदै गीतसम्म सार्वजनिक हुँदा दर्शकबाट प्राप्त उत्साहसहितको प्रतिक्रियालाई न्याय गर्दै सम्मानीत स्थानको अपेक्षा हाम्रो हो ।’ ‘बुलाकी’लाई गरिएको व्यवहारले नयाँ निर्मातालाई सोच्न बाध्य बनाउने उनको तर्क छ ।

