Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२०७९ मा ५ सय टिकट पनि विक्री नभएका ९ नेपाली फिल्म

फिल्मीखबर, काठमाडौं, 2023/04/12

nepali movie

 

२०७९ साल विदा हुन अब एक दिन बाँकी छ । कोरोना महामारीले थला परेको नेपाली फिल्म क्षेत्र यस वर्ष केही हदसम्म जुर्मुरायो । ४६ वटा फिल्म रिलिज भएकोमा दुई फिल्म ब्लकबस्टर, दुई फिल्म सुपरहिट र पाँच फिल्म हिट भए । अन्य वर्षको तुलनामा यो सुखद हो । तर, लगानी सुरक्षित गर्ने फिल्मभन्दा पोस्टर छपाईको पैसा समेत नउठाउने फिल्मको संख्या यो वर्ष पनि सर्वाधिक छ ।

हलमा रिलिज भएका ४६ फिल्ममध्ये ९ फिल्मको ५ सयवटा टिकट समेत विक्री भएनन् । यस वर्ष सबैभन्दा कम टिकट विक्री हुने फिल्मको रेकर्ड ‘सिवानी’ले बनाएको छ । चलचित्र विकास बोर्डको बक्स अफिस सिस्टममा देखिएको डाटाअनुसार यो फिल्मको टिकट जम्मा ५ वटा विक्री भएको छ । र, कमाई ५ सय २० रुपैयाँ छ । सयवटा पनि टिकट विक्री नहुने फिल्म भने दुईवटा छन् ।

‘नरसिम्हा’को ४९ वटा टिकट विक्री हुँदा ४ हजार ८ सय ३२ रुपैयाँ र ‘रेन’को ४२ वटा टिकट विक्री हुँदा ३ हजार ५ सय ९६ रुपैयाँ कमाई छ । ५ सयवटा पनि टिकट विक्री नहुने फिल्मको संख्या भने ६ वटा छ । ‘प्रेमा’को ३५१ वटा, ‘आँधी तुफान २’को १४५ वटा, ‘सरी मम’को ११२ वटा, ‘पासो’को ४३० वटा, ‘चोर पुलिस’को १०४ वटा र ‘गोर्खाः बिनिथ द ब्रेभरी’को ३९० वटा टिकट बिकेको छ ।

यस वर्ष सर्वाधिक टिकट विक्री हुने फिल्मको रेकर्ड भने ‘कबड्डी ४’ले बनाएको छ । २१ करोड ३८ लाखमाथि कमाई गर्दै फिल्मको टिकट ७ लाख ६६ हजार ७ सयवटा विक्री भएको बक्स अफिस सिस्टमको डाटामा देखिन्छ । सर्वाधिक टिकट विक्री हुने नेपाली फिल्मको दोस्रो स्थानमा ‘छक्का पञ्जा ४’, तेस्रो स्थानमा ‘प्रेम गीत ३’, चौंथो स्थानमा ‘महापुरुष’ र पाँचौं स्थानमा ‘दुई नम्बरी’ छ ।