आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरेका चार फिल्ममध्ये ‘नाईं नभन्नू ल ६’ अन्तिम घडीमा आएर पोस्टपोन्ड भएको छ । यो फिल्मले मैदान छोड्दा नयाँ वर्षका ‘बुलाकी’, ‘जारी’ र ‘बिहे पास’लाई धेरै ठूलो राहत मिलेको छ । ‘नाईं नभन्नू ल ६’ अब आगामी बैशाख १५ गतेबाट प्रदर्शनमा आउने सम्भावना प्रवल छ । तर, निर्माण पक्षले नयाँ प्रदर्शन मिति घोषणा गरिसकेको छैन ।
फिल्मका निर्मातामध्ये एक सञ्जय न्यौपानेविरुद्ध चलचित्र विकास बोर्डमा जाहेरी परेका कारण बोर्डले सेन्सर सिफारिसको प्रक्रिया अगाडि नबढाएपछि फिल्मलाई निर्धारित मितिमा प्रदर्शन गर्न नसकिएको निर्देशक विरासराज अचार्यले जानकारी गराएका छन् । तर, उनको कुरामा सत्यता देखिन्न । बोर्डले चैत २८ गते फिल्मको सेन्सरका लागि सिफारिस गरेको पत्र सार्वजनिक भैसकेको छ ।
मल्टीप्लेक्सहरुमा राम्रो शो नपाउने देखेपछि निर्देशक आचार्यले तत्काललाई फिल्म प्रदर्शनको जोखिम उठाउन नचाहेको देखिन्छ । किनकि, मल्टीप्लेक्सहरुले शो बाँडफाँडमा ‘जारी’लाई प्राथमिकतामा राखेका छन् । ‘नाईं नभन्नू ल ६’ न्यून शोमा खुम्चनु पर्ने र एक हप्ताअघिसम्म छायांकन भैरहेकाले प्राविधिक काम पनि राम्रोसँग नभ्याइनु फिल्मको प्रदर्शन स्थगित हुनुको मुख्य कारण हो ।
फिल्मलाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् । भुपेन्द्र रायमाझी, बसन्त सापकोटा र शरद शंकरको संगीत रहेको फिल्ममा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्ग बहादुर पुन (खबपु), निखिल उप्रेती र सञ्चिता लुईंटेलका छोरा अथर्व, योगिशा खत्रीलगायतको अभिनय छ । आशिर्वादको यो डेब्यू फिल्म हो ।

