चकलेटी अनुहार, बान्की परेको शरीर र अग्लो कदका नरेन खड्का हिरोको परम्परागत मानकभित्र अट्छन् । यसैले नै हुनसक्छ, हिरो जन्माउने ब्यानरको रुपमा चिनिएको छविराज प्रोडक्सनको आँखा उनमा पर्यो । र, फिल्म ‘हमेशा’बाट डेब्यू गर्ने अवसर पाए । फिल्ममा लेडी सुपरस्टार रेखा थापा मुख्य भूमिकामा थिइन् र नरेन उनको अपोजिटमा । उनका लागि यो आफैंमा सपना थियो ।
डेब्यू फिल्म हिट भएपछि उनी फिल्मकर्मीको आँखामा परे । केही फिल्मको अफर समेत आयो । तर, उनले सबै फिल्मको अफर नकारे र अभिनय सिक्नका खातिर मुम्बई हानिए । उनी मुम्बईबाट फर्किँदासम्म नेपाली फिल्मको सिनारियो नै परिवर्तन भैसकेको थियो । खासमा त्यसपछि उनको संघर्षका दिन सुरु भयो । उनले आफूलाई स्थापित गराउन अझैसम्म पनि संघर्ष गर्नुपरेको छ ।
नरेन अभिनीत नयाँ फिल्म ‘बुलाकी’ बैशाख १ गतेबाट प्रदर्शन हुँदैछ । अघिल्ला फिल्महरुमा सुकिलोमुकिलो भूमिका निर्वाह गरेका उनी यसमा विल्कुलै फरक भूमिकामा छन् । फिल्ममा उनी कर्णाली क्षेत्रको एक बेरोजगार विवाहित पुरुषको भूमिकामा छन् । ट्रेलरमा उनलाई कर्णालीको जमिन जोत्दै गरेको देखिन्छ । यो भूमिकामा दर्शकलाई ‘कन्भिन्स्ड’ गराउन उनलाई ठूलो चुनौती छ ।
नरेन भन्छन्, ‘मैले निभाएको क्यारेक्टरबाट दर्शकलाई ‘कन्भिन्स्ड’ गर्न सक्छु कि सक्दिनँ भन्ने चुनौती छ । यद्यपि, त्यसमा सफल हुन्छु भन्नेमा विश्वस्त छु । किनकि, मैले चन्द्रेको क्यारेक्टरलाई न्याय गर्न सकेको प्रयास गरेको छु । र, मेरो लागि ‘बुलाकी’ चल्नैपर्ने अवस्था पनि छ । किनकि, मेरा अघिल्ला फिल्महरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । ‘बुलाकी’ले राम्रो गर्छ भन्ने पूर्ण विश्वास छ ।’
पहिलेदेखि नै क्यारेक्टर ‘बेस्ड’ फिल्म गर्ने इच्छा पालेका उनी ‘बुलाकी’बाट त्यो पूरा भएको खुसी छन् । ‘हिरोइनको पछाडि भाग्ने भन्दा मलाई क्यारेक्टरको गहिराइमा गएर फिल्ममा काम गर्न पहिल्यैदेखि रहर थियो,’ उनी भन्छन्, ‘यसै क्रममा ‘बुलाकी’ अफर आयो । मलाई यो फिल्मको कथावस्तु एकदमै राम्रो लाग्यो । स्क्रिप्ट पढ्दा मलाई एउटा उत्कृष्ट नोवेल पढेको जस्तै लागेको थियो ।’
उनी फिल्मलाई दर्शकले राम्रो भन्नेमा आशावादी छन् । ट्रेलरबाट मिलेको प्रतिक्रियाले पनि उनलाई यो विश्वास पलाएको हो । उनी ‘बुलाकी’लाई यथार्थपरक र मौलिक फिल्म भन्न रुचाउँछन् । फिल्म जारी प्रथाको विषयमा मात्र केन्द्रित नरहेको पनि उनको दाबी छ । फिल्ममा कर्णाली क्षेत्रका महिलाहरुको समस्या, वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको कथा पनि रहेको उनको भनाई छ ।
‘बुलाकी’सँग उनको तीनवटा रोचक संयोग पनि जुरेको छ । यो उनको दशौं फिल्म हो । दशौं फिल्म हरेक कलाकारका लागि सधैं विशेष हुन्छ । र, नरेनले फिल्ममा पाइला टेकेको पनि दश वर्ष पुगेको छ । अर्को संयोग भनेको उनको पहिलो फिल्म ‘हमेशा’ जुन मितिमा प्रदर्शन भएको थियो, ‘बुलाकी’ पनि त्यही मितिमा आउँदैछ । यसैले पनि उनी ‘बुलाकी’लाई लिएर बढी नै उत्साहित छन् ।
उनी फिल्ममा आफूले निर्वाह गरेको चन्द्रेको संघर्ष र जीवन भोगाइ आम नेपालीको साझा कथा ठान्छन् । ‘चन्द्रेको जीवन भोगाइ र संघर्ष हामी हरेक नेपालीसँग मिल्छ जस्तो लाग्छ । किनभने, देशमा बेरोजगारीको समस्या, परदेश जानुपर्ने बाध्यता विकराल छ । त्यही भएर पनि मैले निर्वाह गरेको चन्द्रेको क्यारेक्टरमा दर्शकले आफूलाई महसुस गर्नुहुन्छ भन्नेमा पूर्ण विश्वस्त छु,’ उनी सुनिए ।

