
आगामी वर्षको जेठ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘गणपति’को टिजर सार्वजनिक गरिएको छ । आइतबार युट्युब रिलिज गरिएको १ मिनेट ३७ सेकेन्ड लम्बाईको टिजरमा एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकालको प्रेम र युवाअवस्थाको उतारचढावलाई देखाइएको छ । टिजरका सस्पेन्सयुक्त दृश्यले फिल्मप्रति दर्शकको कौतुहलता बढाउने देखिन्छ ।
आस्थाको रुपमा रहेका भगवान् र भौतिक रुपमा नै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने फिल्मलाई सविन अधिकारीले निर्देशन गरेका हुन् । यो फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल आदिको अभिनय छ ।
निर्देशक अधिकारीले ‘गणपति’ नेपाली समाजको चरित्र चित्रण गर्ने बताए । उनले कोही व्यक्ति कुनै बेला त्यही समाजको भगवान् बन्ने र पछि एक घटनाका कारण त्यही व्यक्तिलाई समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने फिल्ममा देखाइएका उनको भनाई छ । उनले ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् ।
फिल्ममा भुषाल टाइटल क्यारेटरमा छन् । ‘गणपति’मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने उनको भनाई छ । एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाद्वारा निर्मित फिल्ममा हरिबहादुर घलेको छायांकन छ । तनहुँ क्षेत्रमा छायांकन भएको फिल्मका गीतमा अनिस अधिकारीले शब्द रचना र संगीत छ भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् ।

