Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

०७९ : कमाईमा ‘कबड्डी ४’ र समीक्षामा ‘ऐना झ्यालको पुतली’ अब्बल

फिल्मीखबर, काठमाडौं, 2023/04/08

२०७९ साल नेपाली फिल्म क्षेत्रका लागि केही हिसाबमा सम्झनलायक र केही हिसाबमा विर्सनलायक बनेर विदा हुँदैछ । एकपछि अर्को नेपाली फिल्मले हलमा बेहोर्नुपरेको सौतेनी व्यवहार, स्टार कलाकारको फिल्मको खराब प्रदर्शन, कलाकारहरुको श्रृंखलाबद्ध विवादले २०७९ विर्सनलायक वर्ष बन्दा केही अनपेक्षित फिल्मको व्यावसायिक सफलताले उतिक्कै सम्झनलायक वर्ष पनि बन्यो ।

फिल्म ‘ए मेरो हजुर ४’ले यस वर्षका लागि प्रदर्शनको पहिलो खाता खोलेको थियो । र, यो वर्षको विदाई फिल्म ‘बहाव’ले गरेको छ । यो बीचमा कूल ४६ वटा फिल्म प्रदर्शनमा आए । कोरोना महामारीभन्दा अगाडिको रिलिज क्यालेन्डर हेर्ने हो भने यो संख्या न्यून हो । २०७५ सालमा करिब सयवटा र २०७६ सालमा ५५ वटा फिल्म प्रदर्शन भएका थिए । यस वर्ष फिल्म रिलिजमा ह्रास आयो ।

तर, यस वर्ष व्यापार केही सुधारन्मुख देखियो । वर्षको पहिलो रिलिज फिल्म ‘ए मेरो हजुर ४’ले साउथ फिल्म ‘केजीएफ २’सँगको भिडन्तका बावजूद पनि आफ्नो लगानी सुरक्षित गर्‍यो । यसलाई यो वर्षको हिट सूचीमा राख्न सकिन्छ । जेठमा आएको ‘कबड्डी ४’ले त नेपाली फिल्मको इतिहासमा नै सर्वाधिक कमाईको रेकर्ड बनायो । यो फिल्म यस वर्षको सबैभन्दा ठूलो ब्लकबस्टर हो ।

जेठपछि ३ महिना हिट फिल्मको खडेरी नै लाग्यो । आशातित फिल्मले समेत गतिलो व्यापार गर्न सकेनन् । भदौ १७ गते प्रदर्शन भएको ‘झिँगेदाउ’ले भने सरप्राइज व्यापार गर्‍यो । फिल्मले लगानी सुरक्षित गरेर निर्मातालाई राम्रो मुनाफा समेत दिएको थियो । र, यो यस वर्षको हिट फिल्ममा दरिएको छ । ‘झिँगेदाउ’ले फिल्म चल्नका लागि सिरिज वा सिक्वेल चाहन्न भन्ने प्रमाणित गरेको छ ।

 

kabaddi 4 and Butterfly on a Windowpane


भदौदेखि कात्तिकसम्मको अवधि फिल्म क्षेत्रका लागि उर्बर मान्न सकिन्छ । यो अवधिमा तीन फिल्म हिट र दुई फिल्म सुपरहिट बने । असोज ७ गते प्रदर्शन भएको ‘प्रेमगीत ३’ले १० करोड ग्रसको कमाई गर्दै सुपरहिट सूचीमा नाम लेखायो । यो फिल्मले भारतमा नेपाली फिल्मका लागि धेरै हदसम्म बाटो खोल्ने काम समेत गर्‍यो । यद्यपि, भारतीय बक्सअफिसमा फिल्म पूर्णतः असफल रह्यो ।

असोज २१ मा रिलिज भएको ‘दुई नम्बरी’ र कात्तिक ४ मा आएको ‘के घर के डेरा’ले लगानी सुरक्षित गर्दै हिट सूचीमा नाम लेखाए । कात्तिक ११ गते प्रदर्शनमा आएको ‘महापुरुष’ले १० करोड आसपास कमाई गर्दै वर्षको सुपरहिट फिल्मको सूचीमा स्थान बनायो । कात्तिकदेखि फागुन पहिलो सातासम्म भने नेपाली फिल्मको अवस्था नाजुक रह्यो । आशा गरिएका फिल्म दर्शकले पत्याएनन् ।

फागुन ५ गते प्रदर्शित ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’लाई यो वर्षको हिट मान्न सकिन्छ । यो फिल्मले जेनतेन लगानी उठायो । फागुन १९ गते प्रदर्शनमा आएको ‘छक्का पञ्जा ४’ भने अहिलेसम्मको अवस्थामा ‘कबड्डी ४’पछि सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । अर्थात्, यस वर्षको दोस्रो ब्लकबस्टर । अब ‘कबड्डी ४’को २२ करोडको रेकर्ड भत्काउने रेसमा छ ।

यसरी हेर्दा यो वर्ष दुई ब्लकबस्टर, दुई सुपरहिट र पाँच फिल्म हिट भएका छन् । यसलाई २०७९ सालको सुखद उपलब्धि नै मान्न सकिन्छ । तर, यस वर्ष लगानी उठाउनेभन्दा पोस्टर छपाईको पैसा समेत नउठाउने फिल्मको संख्या उच्च रहेकाले खुसी भैहाल्ने अवस्था पनि छैन । यस वर्ष केही फिल्म समीक्षात्मक रुपमा पनि अब्बल ठहरिए, जसले लगानी सुरक्षित गर्न भने सफल भएनन् ।

यो वर्ष समीक्षात्मक रुपमा सबैभन्दा अब्बल फिल्म ‘ऐना झ्यालको पुतली’ ठहरियो । सम्भवतः आगामी वर्ष यो फिल्मले सर्वाधिक अवार्ड जित्न सक्नेछ । अभिनेता प्रदीप खड्का स्टारर फिल्म फिल्म ‘प्रकाश’ले पनि राम्रो समीक्षा प्राप्त गरेको थियो । यसका साथै ‘चिसो मान्छे’, ‘सेक्रेट्स अफ राधा राधा’, ‘पानीफोटो’, ‘दोख’, ‘प्रेमगन्ज’ले पनि दर्शक तथा समीक्षकबाट राम्रो प्रशंसा पाएका थिए ।

यो वर्ष अनमोल केसीको ‘छड्के २’, पुष्प खड्काको ‘कृष्ण लीला’, आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’, साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’, पूजा शर्माको ‘सम्झना विर्सना’ र ‘सम्हालिन्छ कहिले मन’, धिरज मगरको ‘बाबरी’ जस्ता फिल्मको अफलताले फिल्म क्षेत्रलाई नै स्तब्ध बनायो । यसलाई नेपाली फिल्ममा स्टारडम चल्न छाडेको रुपमा अर्थ्याइएको छ ।