Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हल नभएका गण्डकी प्रदेशका पाँच जिल्लामा बोर्डको घुम्ती सिनेमा कार्यक्रम

फिल्मीखबर, काठमाडौं, 2023/04/07

Ghumti Cinema_Gandaki

 

पूर्वी नेपालका पहाडी जिल्लापछि चलचित्र विकास बोर्डले गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, पर्वत र बाग्लुङ्ग जिल्लामा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम सञ्चालन गरेको छ । यही चैत्र १२ देखि २० गतेसम्म हलको सुविधा नभएका ती जिल्लाहरुका विभिन्न विद्यालयको भवन, सामुदायिक भवन, क्लब एवं खुल्ला स्थानहरुमा नेपाली फिल्म प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति थियो । फिल्मका बारेमा जागरण ल्याउन राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र पुरस्कार तथा विभिन्न पुरस्कारबाट पुरस्कृत भएका शिक्षामूलक, सन्देशमूलक, सामाजिक कथामा बनेका फिल्महरू देखाउँदै नेपाली फिल्म हेर्नका लागि प्रोत्साहन गर्ने लगायतका विषयमा छलफल समेत गरिएको थियो ।

 

Ghumti Cinema_Gandaki


गण्डकी प्रदेशका पाँच जिल्लामा भएको कार्यक्रममा फिल्म ‘अग्नीदहन’का निर्माता कोविदशरण उपाध्याय, चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति प्रवर्द्धन समितिका सदस्य बिरवल घले र निर्माता आत्रेयलगायतले घुम्ती सिनेमाको बारेमा प्रकाश पारेका थिए भने बोर्डको तर्फबाट अभियानका बारेमा चलचित्र विकास बोर्डका अधिकृत गिरीश शर्माले जानकारी गराएका थिए ।
 
गण्डकी प्रदेशका १० वटा ठाउँहरूमा घुम्ती सिनेमामार्फत नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’, ‘आमा’, ‘पचे गोरे’ (गुरुङ भाषा), ‘गोपी’, ‘अग्निदहन’ र वृत्तचित्र ‘ग्रेटर नेपाल’ प्रदर्शन गरिएको थियो । सातवटै प्रदेशमा हलको सुविधा नभएका वडा, गाउँपालिका, नगरपालिका, टोल बस्तीहरुमा राष्ट्रियतामाथि निर्माण भएका तथा विशेष प्रकारका फिल्महरु प्रदर्शन गरिने बोर्डले जनाएको छ ।