
यस वर्षको अन्तिम फिल्मको रुपमा ‘बहाव’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्म ‘प्रसाद २’लाई उच्च अदालत पाटनले निर्माताबीचको आर्थिक लेनदेनका कारण प्रदर्शनमा अंकुश लगाएपछि सोलो रिलिज पाएको फिल्मलाई मल्टीप्लेक्सहरुले औसत शो दिएका छन् भने सिंगल थिएटर दुई दर्जन बढी मिलेको छ । फिल्मलाई हलमा टिकिराख्न बलियो ‘वर्ड अफ माउथ’ चाहिनेछ ।
बुधबार भएको प्रिमियरमा सुखद प्रतिक्रिया प्राप्त गरेको फिल्मले स्वतन्त्र हिसाबले बाँच्न चाहने एक महिला पात्रको कथा भनेको छ । ‘मेथड एक्टिङ’ (पूर्वाभ्यास)को प्रयोग गरिएको फिल्मको कथा अभिनेत्री सुरक्षा पन्तले निर्वाह गरेको सन्ध्या पात्रको आँखाबाट भनिएको छ । डेढ घन्टा लम्बाईको फिल्म परम्परागत कथ्य संरचनाभन्दा अलग छ । यसैले फिल्म दर्शकलाई फरक लाग्न सक्छ ।
प्रमोद कँडेलको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, इश्वरी सिंह, हीरालाल कँडेल, सुर्य शर्मा भट्ट र पवन श्रेष्ठको पनि अभिनय छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मका निर्माता श्रीधर पौडेल हुन् । पौडेलले यसअघि फिल्म ‘गोपी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय चलचित्र पुरस्कार जित्न सफल भएको थियो ।
सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको यस फिल्ममा अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । फिल्मलाई आरआर फिल्म्स (रोहित-रत्न)ले देशभर वितरण गरेको छ । निर्देशक कँडेलका अनुसार, फिल्म सत्य कथाबाट प्रभावित भएर निर्माण भएको हो ।

