Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के ‘दिमाग खराब’मा हुँदैछ निश्चल र दीपकराजबीच सहकार्य ?

फिल्मीखबर, काठमाडौं, 2023/04/06

निर्देशक निश्चल बस्नेतले फिल्म ‘टलकजंग भर्सेस टुल्के’ रिलिजपछि ‘दिमाग खराब’ नाममा फिल्म बनाउने तयारी गरेका थिए । तर, चलचित्र विकास बोर्डमा नाम दर्ता नगरी फिल्म घोषणा गरिएकाले यो नाम अर्कै कम्पनी उम्कायो । तीन वर्षसम्म यो नाममा फिल्म नबनेपछि निर्माण इजाजत स्वतः रद्द भयो । र, निश्चलले आफ्नो कम्पनीबाट आफैं निर्देशक रहने गरी उक्त नाम बोर्डमा दर्ता गरे ।

निश्चल आफैंले फिल्मको स्क्रिप्ट तयार पारे । तर, उनलाई चित्त बुझेन । र, नयाँ कथामा ‘दिमाग खराब’ निर्देशन गर्न सिमोस सुनुवार कस्सिए । फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काले अभिनय गर्ने भए । तर, स्क्रिप्ट ‘लक’ भएर छायांकन सुरु हुने बेला बलिउड फिल्म ‘मोतीचुर चकनाचुर’ रिलिज भयो । यो फिल्मसँग कन्सेप्ट लगभग मिल्दोजुल्दो भएपछि ‘दिमाग खराब’ फेरि थन्किन पुग्यो ।

 

लुट' नआएको भए 'छक्का पञ्जा' पनि नआउन सक्थ्यो : दीपकराज गिरी


अब फेरि एकपटक ‘दिमाग खराब’ नाममा फिल्म बन्न लागेको चर्चा सुरु भएको छ । फिल्मलाई निश्चलले निर्देशन गर्दैछन् । उनले नयाँ स्क्रिप्ट तयार पारेर केही कलाकारसँग सम्झौता समेत गरिसकेको जानकारी प्राप्त छ । निश्चलले यसै साता अभिनेता सौगात मल्ललाई फिल्ममा अनुबन्धित गरेको विश्वस्त स्रोतको दाबी छ । अभिनेता दयाहाङ राई पनि फिल्ममा जोडिने सम्भावना प्रवल छ ।

‘दिमाग खराब’मा निश्चलले ‘छक्का पञ्जा’ समुहसँग पनि सहकार्यको पहल गरिरहेका छन् । केही चरण दीपकराज गिरीसँग उनको छलफल भैसकेको छ । यसबारेमा दीपकराजले भने, ‘कुरा भएको हो तर पक्का भएको छैन । दुवै पक्षको सेड्युल पनि मिल्नु पर्‍यो । काम गर्‍यौं भने फिल्ममा हाम्रो टिम हुन्छ । तर, के हुन्छ भन्ने कुरा भविष्यको गर्वमा छ । अहिले सामान्य कुरा मात्र भएको छ ।’

आगामी बैशाखपछि छायांकन थाल्ने तयारी गरिएको फिल्मको निर्माण रौनक विक्रम कँडेलले गर्ने बुझिएको छ । फिल्ममा ‘छक्का पञ्जा’ समुह पनि जोडिएको अवस्थामा भने मुनाफाको प्रतिशत बाँड्ने सहमति हुन सक्नेछ । यो फिल्मपछि निश्चलले समीक्षक यज्ञशले लेखेको स्क्रिप्टमा फिल्म बनाउनेछन् । जसमा खगेन्द्र लामिछाने, सौगात मल्ल, दयाहाङ राईलगायतको अभिनय रहनेछ ।