Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा रुचाइयो ‘बहाव’

फिल्मीखबर, काठमाडौं, 2023/04/06

भोलि शुक्रबारबाट प्रदर्शन हुन लागेको प्रमोद कँडेल निर्देशित फिल्म ‘बहाव’लाई प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको छ । बुधबार साँझ काठमाडौंको वान् सिनेमाजमा आयोजित प्रिमियरमा उपस्थित भएका फिल्मकर्मी, राजनीतिज्ञ तथा व्यवसायीहरुले फिल्मको कथावस्तु फरक लागेको प्रतिक्रिया जनाए । कलाकारको अभिनयको प्रशंसामा पनि अधिकांश पाहुनाहरुले शब्द खर्चिएका थिए ।

 

Bahaab (1)


एमाले नेता रघुजी पन्तले ‘बहाव’को कथावस्तु नयाँ रहेको बताए । ‘यो फिल्मले एउटा सम्भावना भएको निर्देशक फेला पारेको छ । उहाँबाट हामीले भविष्यमा राम्रो फिल्म पाउन सक्छौं भन्ने लागेको छ,’ नेता पन्तले भने, ‘स्क्रिप्ट लेखनमा केही कमी-कमजोरी छ । तर, अभिनय, संवाद, सम्पादन सबै कुराले मलाई फिल्म राम्रो लाग्यो । फिल्म पारखीहरुका लागि ‘बहाव’ नयाँ स्वाद हुन सक्छ ।’

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा एमाले सांसद पदम गिरीले फिल्मले समाजभित्रको अन्तरविरोधलाई देखाएको बताए । उनले समाजभित्र रहेको विभेदको जरा उखेल्न नसकिरहेको अवस्थामा ‘बहाव’ले त्यो जरा उखेल्न भूमिका निर्वाह गर्ने दाबी गरे । ‘यस्तो फिल्मले समाजलाई बदल्न महत्वपूर्ण भूमिका खेल्छ भन्ने लाग्छ । फिल्मले समाजको यथार्थ कथा उठाएको छ,’ नेता गिरीले भने ।

 

Bahaab (1)


निर्देशक तथा कलाकार नरेश पौडेलले ‘बहाव’ नेपालमा बनिरहेका फिल्मभन्दा फरक शैलीमा बनेको बताउँदै आफूलाई जापानी फिल्म हेरेको अनुभव भएको बताए । कलाकार भोलाराज सापकोटाले फिल्मको कथा, प्रस्तुतिकरण र कलाकारको अभिनयको खुलेर प्रशंसा गरे । अर्का कलाकार दीपक आचार्य (काकु)ले नेपाली परिवेशमा फरक शैलीको राम्रो फिल्म बनेको धारणा राखे ।

कलाकार विजय बरालले फिल्मको कन्सेप्ट आफूलाई मन परेको बताए । त्यस्तै, अभिनेत्री लुनिभा तुलाधरले फिल्मले आफ्नो कथा भनेजस्तो अनुभव गरेको बताइन् । उनले मानसिक स्वास्थ्यको विषयलाई उठान गरेकोमा आभार व्यक्त गर्दै यस्ता कथामा अझ फिल्म बन्नुपर्नेमा जोड दिइन् । प्रिमियरमा प्राप्त प्रतिक्रियाबाट फिल्मका निर्देशक, निर्माता तथा कलाकार प्रफुलित देखिएका थिए ।

 

Bahaab (1)


स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’मा आधारित छ । श्रीधर पौडेल निर्माता रहेको फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठको अभिनय छ । कसैको निमन्त्रणमा नभइ स्वतन्त्र भएर बाँच्न चाहने सन्ध्या पात्रको आँखाबाट फिल्मको कथा भनिएको छ ।