Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 4.64/5.00)
Text size:-
+
-

मिरुनालाई फिल्मबाट निकाल्न खोज्ने व्यक्ति को थिए ?

फिल्मीखबर, काठमाडौं, 2023/04/05

दुई हप्ता अगाडि सञ्चारकर्मी विश्व लिम्बूको पोडकास्टमा अभिनेत्री मिरुना मगरले आफूलाई एक फिल्मबाट अहिलेका एक चर्चित कलाकारले निकाल्न प्रयास गरेको खुालासा गरेपछि यो विषय यतिबेला फिल्म क्षेत्रमा चर्चाको विषय बनेको छ । मिरुनाले फिल्म र कलाकारको नाम नखुलाए पनि उनले बोल्ने क्रममा गरेका केही संकेतले भने कुन फिल्म र को कलाकार हो भन्ने लगभग बुझिन्छ ।

उनले भनेकी छन्, ‘त्यो फिल्ममा साइन भएको म नै पहिलो थिएँ । फिल्मको नाम जे थियो, त्यही नै क्यारेक्टर थियो मेरो । त्यसबेला मेकरले मलाई यूके गएर फर्किँदा हुन्छ, फिल्म बन्न एक महिना लाग्छ भनेपछि म यूके गएँ । त्यसबेला मलाई यूकेमा राम्रो कस्ट्युम पाइन्छ, उतैबाट ल्याउनु भनेर पैसा दिनुभएको थियो । तर, यूकेबाट आएपछि मलाई फिल्मको टिमले केही समय सम्पर्क गरेन ।’

मिरुना अगाडि भन्छिन्, ‘एक दिन मलाई असिस्टेन्ट डाइरेक्टरले एउटा कुरा गर्नुथियो आउनुस् न भनेपछि म गएँ । तर, त्यो टिममा नयाँ मान्छे आइसकेका रहेछन् । म गएपछि पूरै सन्नटा छायो । अनि, मलाई पहिला सम्झौता भएको क्यारेक्टर छाड्नु पर्‍यो भनेर प्रस्ताव राख्नुभयो । म त पुरै ब्लाङ्क भएँ । केही पनि सोच्न सकिनँ । त्यसबेला म नयाँ-नयाँ नै थिएँ । तर, मैले त्यसैबेला हुँदैन भनेँ ।’

सम्झौतामा बाँधिएपछि विना कारण निकाल्न पाइन्न भनेर अडान लिएपछि निर्माण टिमले आफूलाई अर्को क्यारेक्टर प्रस्ताव राखेको तर त्यो क्यारेक्टर दुई/तीनवटा सिनको मात्र रहेकाले आफूले नमानेको मिरुनाले बताएकी छन् । अर्को क्यारेक्टर चित्त नबुझेपछि उनले आफूलाई फिल्मबाट निकाल्न खोज्ने व्यक्तिसँग कुराकानी गर्न चाहिन् । उनले भनेकी छन्, ‘उहाँ एकदमै चलेको मान्छे हो ।’

 

मिरुना मगर : तीन वर्षमा तीन फ्लप


‘उहाँलाई मैले तपाईंलाई किन मसँग काम गर्न मन छैन भनेर सोधेँ । उहाँले मलाई तपाईंसँग बोल्न मन छैन, म (मिरुना) भयो भने आफू निस्किन्छु र साइनिङ एमाउन्ट पनि लान्छु भन्नुभयो । मेरो कामै नहेरी कसरी यो भन्न मिल्छ भनेर भन्दा उहाँ उठेर हिँड्नुभयो । ममा पनि नयाँ नै भए पनि अडान लिनसक्ने शक्ति थियो । मैले म फिल्म छाड्दिनँ भनेर अडान लिएर बसेँ,’ उनले भनेकी छन् ।

आफूलाई फिल्मबाट निकाल्नुको स्पष्ट कारण नदिए चलचित्र विकास बोर्डमा निवेदन दिने बताएपछि अर्को क्यारेक्टर निस्किएको मिरुनाले खुलाएकी छन् । पछि त्यो व्यक्तिको व्यवहारबाट सिंगो टिम नै आजित भएको उनको भनाई छ । तर, त्यसबेला आफूलाई जसले हेपे पनि काम देखाउने जुनुन रहेकाले फिल्मको अर्को क्यारेक्टरमा काम गर्न राजी भएको उनले पोडकास्टमा भनेकी छन् ।

‘पछि म अर्को क्यारेक्टर गर्न राजी भएँ । तर, बीचमा धेरै भागदौड भयो । र, रिलिजपछि मैले पहिलो न्यूज देखेको थिएँ, जुन ममीले सेअर गर्नुभएको थियो । त्यहाँ फिल्म ठीक तर मिरुनाको काम उत्कृष्ट भनेर आएको थियो । त्यो मान्छेसँग अहिले पनि मेरो नराम्रो छैन । तर, कामले देखाउनुपर्छ भन्ने लाग्छ । यस्ता घटनाहरु अरु पनि छन् तर, ती साना-साना छन्,’ उनले निर्धक्क भनेकी छन् ।

मिरुनाको यो कुराले एउटै फिल्ममा शंकाको सुइँ जान्छ । त्यो हो निरक पौडेलद्वारा निर्देशित फिल्म ‘रोज’ । फिल्म ‘लालपूर्जा’बाट अभिनेत्रीको रुपमा करिअर सुरु गरेकी मिरुनाले पछिल्लो रिलिज फिल्म ‘कबड्डी ४’सम्म आइपुग्दा फिल्मकै नाममाथि क्यारेक्टर रहेको ‘रोज’ मात्र एउटा हो, जसको नाम पहिला ‘रोजी’ राखिएको थियो तर पछि विवादका कारण नाम परिवर्तन गरिएको थियो ।

फिल्ममा अभिनेत्री परमिता राणाले ‘रोज’ क्यारेक्टर निभाएकी थिइन् । फिल्ममा मिरुना वकिलको भूमिकामा थिइन् भने अभिनेता प्रदीप खड्काले परमिताको प्रेमीको भूमिका निर्वाह गरेका थिए । मिरुनाले आफूलाई फिल्मबाट निकाल्न खोज्ने व्यक्ति अहिलेको एकदमै चलेको भनेर प्रदीपमाथि शंका गर्ने ठाउँ छाडिदिएकी छन् । किनकी, प्रदीप खड्का अहिलेका चलेका अभिनेतामा पर्छन् ।

मिरुनाले फिल्मको धेरै भागदौड भएको थियो भनेर आफूलाई निकाल्न खोजिएको फिल्म ‘रोज’ नै थियो भन्ने थप स्पष्ट संकेत गरेकी छन् । किनकी, त्यसबेला यो फिल्मको कथावस्तु र नामलाई लिएर ठूलै हंगामा मच्चिएको थियो । रोजी महर्जनको हत्याको घटनामा फिल्म बनेको भनेर उनको परिवार र आफन्तले आपत्ति जनाएपछि निर्माण टिमले ‘रोजी’ नाम परिवर्तन गरेर ‘रोज’ राखेको थियो ।

 

filmykhabar

मिरुनाले आफूलाई निकाल्न खोजिएको फिल्म ‘रोज’ नै थियो भन्ने अर्को आधार पनि दिएकी छन् । उनले फिल्म रिलिजपछि ‘फिल्म ठीकै तर मिरुनाको काम उत्कृष्ट’ भनेर समाचार प्रकाशन भएको कुरा उल्लेख गरेकी छन् । यो समाचार फिल्मीखबरले नै लेखेको थियो । यसबाट पनि उनले भन्न खोजेको फिल्म ‘रोज’ र आफूलाई निकाल्न खोज्ने व्यक्ति भनेर प्रदीपलाई इंकित गरेको देखिन्छ ।

‘रोज’पछि प्रदीप र मिरुनाबीच सहकार्य भएको छैन । तर, यही फिल्मको ‘फूल हैन’ बोलको गीत निकै चर्चित भएको थियो, जसमा उनीहरुको लभ केमेस्ट्री देखाइएको थियो । फिल्म रिलिजको बेला उनीहरुको प्रेम सम्बन्धको चर्चा पनि चलेको थियो । फिल्म ‘साइनो’ रिलिजताका फिल्मीखबरसँगको कुराकानीमा मिरुनाले प्रदीपलाई ‘सुपरस्टार’ भन्दै फेरि काम गर्ने इच्छा जताएकी थिइन् ।