Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरक्षा र कमलमणिको जीवनसँग मिल्दोजुल्दो ‘बहाव’को कथा

फिल्मीखबर, काठमाडौं, 2023/04/04

नेपाली फिल्ममा कमै मात्र अनुशरण गरिने ‘मेथड एक्टिङ’लाई प्रयोग गरिएको फिल्म हो, ‘बहाव’ । फिल्मको पात्रमा बाँच्न अभिनेत्री सुरक्षा पन्तदेखि कलाकार कमलमणि नेपालसम्मले चितवनस्थित एउटा घरमा करिब एक महिना एउटै परिवारको सदस्य भएर विताएका थिए । त्यसको प्रभाव यतिसम्म रह्यो कि सुरक्षा र कमलमणि अझै पनि फिल्मको पात्रबाट बाहिर निस्कन सकेका छैनन् ।

मंगलबार राजधानीमा पत्रकारसँग गफिने क्रममा सुरक्षाले भनिन्, ‘फिल्ममा निर्वाह गरेको पात्र अझै मबाट मुक्त हुन सकेको छैन । अहिले पनि म फिल्मकै पात्रको पहिरन लगाएर हिँडिरहेको छु । त्यो पात्रबाट निस्कनै सकेकी छैन ।’ उनको कुरामा कमलमणिले पनि सहमत जनाए । अहिले पनि आफ्नो लवाई, खुवाई, हिँडाई र बोलाईमा फिल्ममा निभाएकै पात्र देखिने नेपालको अनुभव छ ।

आगामी शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्ममा सुरक्षा र कमलमणि छोरी र पिताको भूमिकामा छन् । फिल्मले छोरी र पिताको वैचारिक अन्तरद्वन्द्वलाई प्रस्तुत गरेको छ । फिल्मलाई समाजको कथा भनिए पनि सुरक्षा र कमलमणिको जीवनसँग कथाको अंश धेरथोर मिलेको छ । सुरक्षा फिल्ममा वैचारिक मनोरञ्जन भएपनि यसको कथा केही हिसाबमा आफ्नो जीवनसँग मिल्ने बताउँछिन् ।

 

surakshya panta and kamalmani nepal


‘यो फिल्मको हिरो-हिरोइन भनेकै कमलमणि दाई र म हौं । यसका केही कथाहरू मसँग पनि सम्बन्धित छ । किनकी हाम्रो घरमा दुई आमा, एक बुवा र चारजना छोरी छौं । तर पनि एउटा पुरुषले राज गरिरहेको परिवार हो,’ सुरक्षा भन्छिन्, ‘फिल्मको केही अंश मसँग पनि मिल्दोजुल्दो छ ।’ स्क्रिप्ट पढेपछि यो कथा भन्न जरुरी छ भन्ने भएपछि नै काम गर्न तयार भएको सुरक्षा स्मरण गर्छिन् ।

कमलमणिलाई भने स्क्रिप्ट पढ्दा सामान्य लागेको रहेछ । तर, फिल्मको एक दृश्यमा सुरक्षासँग अभिनय गर्ने क्रममा उनी गहभरी भए । उनी सम्झन्छन्, ‘हामीले समाजको चरित्र लिँदा त्यसको सारतत्व लिने हो । फिल्ममा मैले बुवाको चरित्र निभाउन आफ्नै बुवा वा काकाबाट सारतत्व लिएको थिएँ । सुरक्षा र मबीच संवाद हुँदा त्यो दृश्यले मलाई यति छोयो कि आफूलाई थाम्न सकिनँ र रोएँ ।’

निर्देशक तथा लेखक प्रमोद कँडेलले फिल्ममा सुरक्षाको भाइको चरित्र निर्वाह गर्ने कलाकारको जीवन आफूले बाँचेको बताए । ‘यो कथा लेखिरहँदा भाईको पात्रमा आफूलाई समेटेको छु । मैले जीवनमा जे कुरा भोगें, ती कुरा दर्शकले भाईको चरित्रमा पाउनुहुन्छ’, कँडेलले भने । त्यस्तै, फोटोग्राफर समेत रहेका निर्माता श्रीधर पौडेलले आफूलाई कथावस्तु फरक लागेकाले लगानी गरेको बताए ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको संयुक्त प्रस्तुति रहेको फिल्म ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ थिममा आधारित छ । फिल्ममा अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको पनि अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको फिल्ममा कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।