
२०७९ सालले विदा माग्न अब ९ दिन बाँकी छ । कोरोना महामारीले करिब २ वर्ष थला परेको नेपाली फिल्म क्षेत्रका लागि यो वर्ष सुखद नै रह्यो । कोभिडअघिको समयभन्दा यस वर्ष तुलनात्मक रुपमा सफल हुने फिल्म धेरै छन् । तथापि, अवस्था उत्साहजनक भने छैन । किनभने, लगानी उठाउने फिल्मभन्दा पोस्टर छपाईको पैसा समेत नउठाउने फिल्मको संख्या यस वर्ष पनि उच्च छ ।
यस वर्ष केही आशातित फिल्महरुको दयनीय प्रदर्शनले फिल्म क्षेत्रलाई नै स्तब्ध बनायो । अनमोल केसी जस्ता सुपरस्टारको फिल्म हलमा एक हप्ता समेत टिक्न सकेन । यही अवस्था यसै साता प्रदर्शनमा आएको फिल्म ‘प्रेमा’को पनि रह्यो । यस वर्षको सुपरहिट फिल्म ‘महापुरुष’का अभिनेता अरुण क्षेत्री अभिनीत यो दोस्रो फिल्मले प्रदर्शनको एक हप्ता पनि नपुग्दै हलमा घुँडा टेकेको छ ।
प्रदर्शनको दिनदेखि नै फिल्मले शो ‘क्यान्सिल’मा रेकर्ड बनाउन थालेपछि प्रायः मल्टीप्लेक्सहरुले तीन दिनमा नै फिल्मलाई उतारे । समीक्षा र दर्शक प्रतिक्रिया दुवै राम्रो नआउँदा फिल्मले दम तोडेको हो । नाम जस्तो फिल्मले दर्शकलाई प्रेमको संसारमा पुर्याउनै सकेको छैन । ‘प्रेमा’ले दर्शक तान्न नसक्दाको फाइदा फिल्म ‘छक्का पञ्जा ४’लाई मिलेको छ । किनभने, दर्शक बाँडिन पाएनन् ।
‘प्रेमा’ सफल हुनुपर्ने सबैभन्दा ठूलो दबाब अभिनेत्री शुभेक्क्षा खड्कालाई थियो । किनकी, डेब्यू फिल्म ‘रणवीर’ फ्लप हुँदा उनको करिअर सुखद रुपमा अगाडि बढ्न सकेको थिएन । फिल्ममा आफूलाई टिकाइराख्न पनि उनका लागि ‘प्रेमा’को सफलता अनिवार्य जस्तै बनेको थियो । तर, दोस्रो फिल्मको नतिजा पहिलो फिल्मको भन्दा खराब आउँदा शुभेक्क्षाको करिअर नै संकटमा परेको छ ।

