
निर्माता सुभाष थापाले आर्थिक पाटो मिलाउन नसक्दा विवादमा तानिएको फिल्म ‘प्रसाद २’को चैत २४ गतेको प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । फिल्मका पूर्व निर्माता केशव पाण्डेले आफ्नो पैसा निर्माता थापाले नदिएका कारण फिल्मको प्रदर्शन रोक्न माग राख्दै अदालतमा रिट हालेका थिए । अदालतले यही २६ गते थप सुनुवाईका लागि दुवै पक्षलाई बोलाएको छ ।
यसका साथै, अदालतले चलचित्र विकास बोर्डलाई कारण देखाउ आदेश पनि जारी गरेको छ । पैसा नपाएको भन्दै प्राविधिकदेखि छायांकन भएको ठाउँका स्थानीयहरुले फिल्म सम्बद्ध पाँचवटा संघ-संस्थामा ‘प्रसाद २’को सेन्सर रोक्न दिएको उजुरीको विषयमा सोमबार बोर्डले सर्वपक्षीय छलफल गर्दै सेन्सर गर्न दिने सहमति गराएपछि उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।
यही चैत १३ गते जिल्ला अदालत ललितपुरले निर्माता सुभाष थापाविरुद्ध पक्राउ पर्जी जारी गरिसकेको छ । केशव पाण्डेले हालेको बैंकिङ कसूर र ठगीको मुद्धामा अदालतबाट पक्राउ आदेश जारी भएपछि अहिले प्रहरी निर्माता थापाको खोजीमा छ । तर, उनी सम्पर्कविहीन छन् । फिल्मको निर्माण घोषणा हुँदा केशव पाण्डे निर्मातामा थिए । अहिले उनको नाम फिल्मको निर्मातामा छैन ।
‘प्रसाद २’को निर्माता बनाउँछु भनेर सुभाष थापाले ६२ लाख ५० हजार पैसा लिएको तर पछि अर्कै निर्माता लिएर फिल्म बनाए पनि आफ्नो पैसा फिर्ता नगरेको केशव पाण्डेको आरोप छ । निर्माता थापाले माघ २९ गते नेपाल इन्भेष्टमेन्ट बैंक, कालिमाटी शाखाको खाताको चारवटा चेक दिएको भए पनि खातामा पर्याप्त रकम नहुँदा चेक नसाटिएपछि उनले बैंकिङ कसूरमा मुद्धा हालेका थिए ।

