.jpg)
यही चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रसाद २’का निर्माता सुभाष थापाविरुद्ध प्रहरीमा बैंकिङ कसूर तथा ठगीको उजुरी, सेन्सर बोर्डमा फिल्मको सेन्सर रोक्न निवेदन, चलचित्र विकास बोर्डसहित विभिन्न फिल्म सम्बद्ध संघ-संस्थामा पैसा नपाएको भन्दै प्राविधिकदेखि कास्कीको होमस्टेसम्मले उजुरी हालेका थिए । जसले गर्दा फिल्मको प्रदर्शन अन्योल बनेको थियो ।
जताततै उजुरी परेका कारण फिल्म नै प्रदर्शन नहुने अवस्था आएपछि सोमबार निर्माता थापाले फिल्म रिलिज भएपछि सबै रकम तिर्नुपर्नेलाई तिरेर मात्र आफ्नो भागको रकम लिने वाचा गर्दै फिल्म प्रदर्शनको वातावरण मिलाइदिन फेसबुकमार्फत अनुरोध गरेका थिए । अन्ततः सोमबार चलचित्र विकास बोर्डमा बसेको उजुरीकर्तासहितको बैठकले फिल्म प्रदर्शन गर्न दिने सहमति गरेको छ ।
बैठकले फिल्मको सेन्सर गर्न दिने लिखित निर्णय गर्दै सेन्सर भइसकेपछि फिल्म सम्बद्ध पाँचवटा संस्थाहरु निर्माता संघ, चलचित्र संघ, प्राविधिक संघ, निर्देशक समाज र कलाकार संघबाट बन्ने टिमले गर्ने निर्णयअनुसार फिल्म प्रदर्शनपछि प्राप्त हुने सबै रकम कुनै एक संस्थाको खातामा जम्मा गर्ने र प्राथमिकताको आधारमा होमस्टे, प्राविधिक र निर्मातालाई प्रदान गर्ने सहमति भएको हो ।
सेन्सर बोर्डमा परेको निवेदनका कारण प्रदर्शनका लागि तीन दिन बाँकी हुँदा समेत फिल्मको सेन्सर हुन सकेको थिएन । अब भने सेन्सरका लागि बाटो खुलेको छ । योसँगै फिल्म घोषित मितिमा नै प्रदर्शनमा आउने निश्चित भएको छ । बैंकिङ कसूर तथा ठगीको मुद्धामा निर्माता थापाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भैसकेको छ । अहिले उनलाई प्रहरीले खोजिरहेको जानकारीमा छ ।

