.jpg)
गत साउनमा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि अभिनेता भुवन केसी एकपछि अर्को विवादमा तानिए । बोर्डमा आएको केही महिना त उनको काम विवाद जन्माउनु मात्र देखिएको थियो । विवादको श्रृंखला गत माघमा दुबईमा सम्पन्न भएको फेस्टिभलसम्म जारी नै रह्यो । अब भने अध्यक्ष केसीले रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमलाई प्राथमकिता दिन थालेका छन् ।
अघिल्लो महिना मात्र भारतीय निर्देशक अनुपम बर्वेलाई प्रशिक्षकमा झिकाएर तीन दिनसम्म पटकथा लेखन तथा निर्देशन विषयक कार्यशाला गरेको बोर्डले अब लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा सहभागि हुनको लागि बैशाख १० गतेसम्म दरखास्तसहित बोर्डको कार्यालय अथवा ईमेल [email protected] मार्फत पेश गर्नुपर्ने जारी सूचनामा उल्लेख छ ।
प्रतियोगिताको लागि छनोट भएका चलचित्रहरुमध्ये उत्कृष्ट तीन चलचित्रहरुले क्रमशः प्रथम, द्वितिय र तृतिय गरी एक लाख पचास हजार, एक लाख र पचहत्तर हजार प्राप्त गर्नेछन् । पुरस्कृत चलचित्रलाई चलचित्र विकास बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरु, विशेष प्रदर्शनी आदिमा सहभागी गराउने भुवन केसीले बताए ।
प्रतियोगितामा सहभागी हुने चलचित्रहरु कम्तिमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको हुनुपर्ने र ५० प्रतिशत चलचित्रकर्मीहरु नेपाली भएको हुनुपर्ने सर्त राखिएको छ । साथै, प्रतियोगिता सम्बन्धी सूचना प्रकाशित भएको मितिले पछिल्लो तीन वर्षभित्र निर्माण भएका चलचित्रहरुले मात्र भाग लिन पाउने र ती चलचित्रहरुले बोर्डबाट अनिवार्य निर्माण इजाजत लिएको हुनुपर्ने बताइएको छ ।

