भारतीय शब्दकोशमा भेटिने शब्द हो, ‘प्रेमा’ । यसको अर्थ ‘प्रेम’ भन्ने हुन्छ । यही प्रेमको विषयमा ‘प्रेमा’ नाम राखेर निर्माण भएको फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको छ । ‘रणवीर’ जस्तो एक्सन फिल्म बनाएका गोविन्द सिंह भण्डारीको निर्देशन तथा लेखन रहेको फिल्ममा शुभेक्क्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । उनीहरुमै फिल्मको कथाले परिक्रमा गरेको छ ।
फिल्मको नामलाई कथाले न्याय गरेको छ । नभए त नेपालमा बन्ने प्रायः फिल्मको नाम र कथावस्तुबीच तालमेल नै हुँदैन । ‘प्रेमा’ले २ घन्टाको अवधि प्रेमकै विषयलाई मियो बनाएको छ । सानो असमझदारीले प्रेम सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको ‘प्रेमा’ के नाम जस्तै प्रेम गर्नका लागि चाहिँ योग्य छ त ? के फिल्मको कथा र पात्रमा आम दर्शकले अपनत्व महसुस गर्न सक्छन् ?
धनगडीबाट दिदीलाई साथी बन्न र जागिरको शिलशिलामा चार भञ्ज्याङ आइपुगेकी छन् प्रेमा (शुभेक्क्षा) । उनले धनगडी बसेर बुझेको काठमाडौं अलग छ । यसैले काठमाडौंमा पाइला टेक्न उनका खुट्टा कापेका छन् । बसबाट काठमाडौं ओर्लिँदै गर्दा देखेको एउटा दृश्यले उनलाई थप भयवित तुल्याउँछ । काठमाडौंको सडकमा हिँड्दा होस् वा बसमा यात्रा गर्दा, उनी आफूलाई असुरक्षित महसुस गर्छिन् ।
यसैक्रममा, काठमाडौं ओर्लिँदै गर्दा देखेको अपरिचित ठिटो आकाश (अरुण)सँग नोकझोंक हुँदा-हुँदै प्रेमाको ऊसँग प्रेम बस्छ । आकाश प्रेमाको सालिन र सादा व्यक्तित्वबाट कायल छन् । प्रेमाआकाशको केयर गर्ने बानीले मोहित छिन् । तर, एकदिन एउटा सानो घटनाले उनीहरुको प्रेम संकटमा पर्छ । त्यसपछि उनीहरुको जीवनमा आउने उतार-चढाव नै फिल्मको केन्द्रीय द्वन्द्व हो ।
.jpg)
तर, फिल्मको केन्द्रीय द्वन्द्व स्पष्ट छैन । पात्रको लक्ष्य स्पष्ट नहुँदा त्यसले केन्द्रीय द्वन्द्वलाई दिशाहीन तुल्याएको छ । यो भनेको पटकथाको कमजोरी हो । पटकथामा मिहिनेतको चर्को अभाव देखिन्छ । मध्यान्तरअघिसम्म चरित्र स्थापित गर्नमै निर्देशकले समय खर्चिएका छन्, जुन झेल्न सकसपूर्ण हुन्छ । मध्यान्तरपछि कथाले गति समाते पनि पटकथा फितलो हुँदा कुनै दृश्यले आँत भरिन्न ।
न आकाश र प्रेमाबीच प्रेम अंकुराउँदा स्वभाविक लाग्छ न छुटिँदा मन हुडल्छ । न त उनीहरुबीच मिलन हुँदा मन रमाउँछ । जुन घटनालाई कथाको ‘टर्निङ पोइन्ट’ बनाइएको छ, त्यो नै स्वभाविक लाग्दो छैन । एन्ड्रोइड मोबाइल बोक्ने पात्र पासपोर्ट साइजको फोटो लिएर हिँडेको दृश्य उस्तै अस्वभाविक छ । कर्कसपूर्ण ब्याकग्राउन्ड स्कोरले कथा र पात्रको भावलाई न्याय गर्न सकेको छैन ।
भारतीय टेलिसिरियल समेत खिचिसकेका महेश पौडेलको छायांकन औसत छ । केही दृश्य उनले लोभलाग्दो खिचेका छन् भने केही दृश्य ‘आउट अफ फोकस’ छ । कृष्ण भण्डारीको सम्पादन र कलरको काम राम्रो छ । भिएफएक्समार्फत् काठमाडौंको बीच भागमा राखिएको भगवान् शिवको मूर्तिको दृश्य गजब छ । यो दृश्यबाट काठमाडौंलाई धार्मिक थलोको रुपमा चिनाउन खोजिएको छ ।
फिल्म ‘महापुरुष’बाट अभिनयमा राम्रो सम्भावना देखाएका अरुण क्षेत्री ‘प्रेमा’मा औसत छन् । चरित्र बलियो नहुँदा त्यसको प्रभाव उनको अभिनयमा पनि देखिएको छ । यद्यपि, उनले निराश बनाउँदैनन् । त्यस्तै, डेब्यू फिल्म ‘रणवीर’मा भन्दा शुभेक्क्षा खड्काको अभिनयमा केही सुधार छ । तर, सुदूरपश्चिमको परिवेशमा हुर्किएकी युवतीको चरित्रमा उनी पूर्ण रुपमा ढल्न भने सकेकी छैनन् ।
अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय सन्तोषजनक छ । तर, उनको चरित्र चित्रण कमजोर छ । उनलाई आकाश र प्रेमाबीच द्वन्द्व उत्पन्न गर्न राखिएको हो वा आकाशको प्रेम वियोगमा साहरा बन्न, या त आफ्नो गल्तीको ऋण तिर्न, त्यो स्पष्ट छैन । कथालाई लम्ब्याउन र दर्शकलाई ‘कन्फ्युज’ बनाउनका खातिर मात्र उनलाई राखिएको भान हुन्छ । उनी नहुँदा पनि फिल्मको मूल कथालाई फरक पर्ने थिएन । न त उनको चरित्र सम्झनयोग्य छ ।
फिल्ममा दुईवटा गीत छन्, ‘मन मनमा र फूल यो चुँडेर’ । दुवै गीतले कथावाचनमा भूमिका खेलेका छन् । ‘मन मनमा’ गीतले अरुण र शुभेक्क्षाको प्रेम भाव बोल्छ भने ‘फूल यो चुँडेर’ गीतले प्रेम वियोग बोलेको छ । शुभेक्क्षा काठमाडौं ओर्लिएपछि दिदीसँग स्कुटरमा हुँइकिएको, अरुण साथीसँग बाइकमा हिँडेको, सृष्टि र अरुण कारमा हिँडेको दृश्य क्रोमा राखेर खिचिएको छ, जसले आँखा विझाउँछ । ती दृश्यले कथालाई अगाडि बढाउन भूमिका पनि खेलेका छैनन् ।
संसारमै लभस्टोरी फिल्मको जग प्रेम, धोका, मिलन, विछोड, वियोग र द्वन्द्वले बनेको हुन्छ । तर, त्यसलाई बुन्ने र देखाउने शैली सबैभन्दा महत्त्वपूर्ण हो । ‘प्रेमा’मा यी दुवै पक्ष कमजोर छ । पटकथा खदिलो र कसिलो नहुनु नै फिल्मको सबैभन्दा ठूलो समस्या हो । संसारका एकसेएक उम्दा लभस्टोरी फिल्म हेरेका दर्शकलाई ‘प्रेमा’ले रिझाउन गाह्रो पर्छ । टाइमपासका लागि ठीकै होला ।

