Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

दयाहाङको ‘जारी’लाई काखा र ‘बिहे पास’लाई पाखाको व्यवहार

फिल्मीखबर, काठमाडौं, 2023/03/30

आफ्नो सन्तान हरेक आमालाई प्यारो हुन्छ । फिल्म पनि कलाकारका लागि सन्तान हो । प्रि-प्रोडक्सनदेखि डबिङसम्म महिनौं दिन लाग्छ । भलै, त्यसको उनीहरुले पारिश्रमिक पाउँछन् । तर, मिहिनेत र समय पारिश्रमिकभन्दा पनि मूल्यवान हुन्छ । फिल्ममा काम गरेपछि प्रदर्शनसम्म साथ-सहयोग गर्नु कलाकारको धर्म नै हो । जसरी एउटी आमाले सन्तानलाई हुर्काइ-बढाइ सक्षम बनाउँछिन् ।

तर, अभिनेता दयाहाङ राईले आगामी बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको आफ्ना दुई फिल्म ‘जारी’ र ‘बिहे पास’मध्ये एउटालाई काखा र अर्कोलाई पाखाको व्यवहार गरेको देखिएको छ । आफ्ना दुवै फिल्म नजुधोस् भन्ने उनले चाहँदा चाहँदै त्यो सम्भव भएन । दुवै फिल्म भिड्ने नै भएपछि उनले प्रचारमा दुवैलाई साथ-साथ लैजानु पर्थ्यो । तर, उनले ‘जारी’लाई बढी नै काखी च्यापेका छन् ।

 

Dayahang Rai


उनको फेसबुक हेर्ने हो भने ‘जारी’मय छ । उनले कहिले यो फिल्मसँग सम्बन्धित समाचार त कहिले पोस्टर, टिजर, गीत र ट्रेलर सेअर गरेका छन् । जनवरी २२ देखि मार्च ८ सम्म उनको फेसबुकमा २४ वटा पोस्ट ‘जारी’को मात्र छ । ‘बिहे पास’को भने ट्रेलर, दुईवटा पोस्टर, एक गीत र टिजरको मात्र पोस्ट उनको फेसबुकमा छ । यसबाट नै उनले ‘बिहे पास’लाई गरेको व्यवहार देखिन्छ ।

अहिले उनी अभिनीत फिल्म ‘नाङ्गो गाउँ’को काभ्रेमा छायांकन भैरहेको छ । तर, उनले यो फिल्मको छायांकनबाट समय मिलाएर ‘जारी’को प्रचार गर्न काठमाडौं आउजाउ गरिरहेका छन् । बुधबार उनले ६/७ घन्टसम्म फिल्मको बारेमा मिडियामा अन्तर्वार्ता दिए । तर, ‘बिहे पास’का लागि उनले एक घण्टा पनि समय दिएका छैनन् । हुन त फिल्मको टिमले नै प्रचारमा चासो देखाएको छैन ।

उनले ‘जारी’लाई काखी च्याप्नुको कारण यो उनको घरको फिल्म जस्तै हो । ‘कबड्डी’ श्रृंखलाका निर्देशक रामबाबु गुरुङको निर्माण र ‘कबड्डी’ श्रृंखलाकै लेखक उपेन्द्र सुब्बाको निर्देशन भएकाले उनले यो फिल्मलाई प्राथमिकता दिएका हुन् । तर, ‘बिहे पास’ पनि आफ्नै सन्तान हो भन्ने दयाहाङले विर्सनु हुन्न । कमसेकम सामाजिक सञ्जालमै भए पनि उनले ‘बिहे पास’लाई राम्रो स्थान दिनुपर्छ ।