यस वर्षको दशैंलाई लक्षित गर्दै असोज १४ गतेलाई फिल्म ‘परदेशी २’को प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, त्यस मितिमा फिल्म रिलिजको ठूलो भीडभाड भएपछि फागुन ५ मा सर्यो । तर, यो मितिमा पनि प्रदर्शन हुन नसकेको ‘परदेशी २’ अब आगामी वर्षको कात्तिक ३ गतेबाट प्रदर्शन हुने भएको छ । शनिबार निर्माण टिमले एक भिडियोमार्फत् प्रदर्शन मिति घोषणा गरेको हो ।
कात्तिक ४ गते (फूलपाती)बाट दशैं विदा सुरु हुने भएकाले ‘परदेशी २’को प्रदर्शन मिति कात्तिक ३ गतेलाई घोषणा गरिएको हो । यो मितिमा छायांकनरत फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ पनि प्रदर्शनमा आउने तयारीमा छन् । अर्थात्, आगामी दशैंमा दुई सफल फिल्मका श्रृंखलाबीच भिडन्त हुने भएको छ । हुन त दशैं विदामा एकभन्दा बढी फिल्म रिलिज हुँदै आइरहेको अवस्था छ ।
‘परदेशी २’को प्रदर्शन मिति घोषणा गर्न तयार पारिएको भिडियोमा अमेरिका बस्ने सन्तान (प्रकाश सपूत)ले आमासँग यसपालीको दशैं र फागुनमा नेपाल आउँछु भने पनि विभिन्न कारणले आउन नसकेको अवस्थालाई फिल्मको रिलिज गर्नुको कारणको रुपमा व्याख्या गरिएको छ भने प्रकाशले अबको दशैंमा घर आउँछु भनेर गरेको वाचालाई नयाँ प्रदर्शन मितिको रुपमा प्रष्ट्याइएको छ ।
नारायण रायमाझी निर्देशित फिल्ममा प्रकाशका साथै नीर शाह, रमा थपलिया, केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको पनि अभिनय छ । गायक सपूतले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । राजेश बंशल र नारायण रायमाझीले फिल्मको निर्माण गरेका हुन् ।
नारायण इन्टरनेशनलको प्रस्तुतिमा बनेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन् । बि.बि. अनुरागीको संगीत रहेको फिल्ममा रामजी लामिछानेसँगै गोबिन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनले छायांकन छ । नेपाल र अमेरिकामा छायांकन भएको फिल्मको वितरण उपत्यकामा डिसीएन र उपत्यकामाबाहिर एफडी कम्पनीले गर्नेछ ।

