
हाल चौंथो सातामा प्रदर्शनरत फिल्म ‘छक्का पञ्जा ४’बाट करिअरमा पहिलो पटक सफलता प्राप्त गरेकी अभिनेत्री बेनिशा हमालले आफूलाई निर्देशकको रुपमा पनि उभ्याइसकेकी छन् । कोरोना महामारीभन्दा अगाडि भारतमा फिल्म मेकिङको अध्ययन गरेकी उनले पहिलो पटक निर्देशन गरेको सर्ट फिल्म ‘मिसिङ ब्राइड’ नेपालको ओटीटी प्लेटफर्म सिनेमाघर एपमा उपलब्ध भएको छ ।
फिल्ममा वर्षा राउत र विवेक सिंह ठकुरी प्रमुख भूमिकामा छन् । यो सर्ट फिल्म सिनेमाघर एपबाट मोबाइल, ट्याब्लेट, आइप्याड तथा विभिन्न स्मार्ट टीभीमा विश्वभरबाट हेर्न सकिन्छ । निर्देशक हमालकै होम प्रोडक्सन कम्पनी मौरी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, प्रविण श्रेष्ठको सम्पादन तथा कलर करेक्सन, राजेश शाहको भिएफएक्स रहेको छ ।
अभिनयको लामो अनुभवलाई आफूले ‘मिसिङ ब्राइड’मा खर्चिएको बेनिशाको भनाई छ । उनी भन्छिन्, ‘यो मेरो पहिलो प्रयास हो । पहिलो प्रयासमा आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु ।’ फिल्ममा बेनिशाकै लेखन रहेको छ । केदार भुषाल कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्दीप घिमिरेको मुख्य सहायक निर्देशन तथा किशोर केसी र सदीक्षा गौतमको सहायक निर्देशन छ ।

