
दीपक वलीको निर्देशनमा बन्न लागेको फिल्म ‘कामिनो’मा कलाकारको लाइनअप बलियो बनेको छ । अभिनेता प्रदीप खड्कालाई मुख्य भूमिकामा अनुबन्ध गर्दै कलाकार छनोट प्रक्रियामा अगाडि बढेको निर्माण टिमले वर्षा सिवाकोटी, राजबल्लभ कोइराला र नीति शाहपछि अब फिल्ममा सौगात मल्ललाई अनुबन्धित गरेको छ । उनीसँग निर्माण टिमले शुक्रबार लिखित सम्झौता गरेको हो ।
दुई सपरस्टार सौगात र प्रदीप एकसाथ एउटै फिल्ममा देखिन लाग्नु दर्शकका लागि ठूलो ‘सरप्राइज’ हो । निर्देशक वलीले फिल्ममा दुवैको भूमिका लगभग बराबर रहेको र दुवैले एकसाथ स्क्रिन सेयर गर्ने जानकारी दिए । तर, उनी सौगातको भूमिकाबारे खुल्न चाहेनन् । अहिले सौगात शुक्रबारबाट पशुपति परिसरमा छायांकन भइरहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’मा व्यस्त छन् ।
आगामी बैशाख १५ गतेबाट छायांकन सुरु हुन लागेको फिल्मका लागि केही दिनअघि वर्कसप भएको थियो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि निर्माण हुन लागेको फिल्मका कार्यकारी निर्माता सुनिल विष्ट गौली हुन् भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । फिल्मको छायांकन नेपालका साथै ल्याटिन अमेरिकाका विविध स्थानमा हुनेछ ।
सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने फिल्ममा पूर्ण लामा क्रियटिभ डिरेक्टर र दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनरमा छन् । तीन करोडभन्दा बढीको लगानीमा निर्माण हुन लागेको फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस गरी चार भाषामा रिलिज गर्ने तयारी गरिएको छ । स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हुन्छ ।

