फिल्म ‘लिलिबिली’बाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी जसिता गुरुङ तीन वर्षदेखि ठूलो पर्दामा देखिएकी छैनन् । २०७६ सालमा प्रदर्शन भएको फिल्म ‘लभ स्टेशन’पछि उनले फिल्म ‘आई एम ट्वान्टी वान’ सम्झौता गरेकी थिइन् । त्यसबेलादेखि जसिताले तन, मन र समय यही फिल्मका लागि खर्चिएकी छन् । ‘एन्टी हिरो’बाहेक उनले अरु फिल्म सम्झौता पनि गरेकी छैनन् ।
उनको लामो पखाई अब सकिँदैछ । ‘आई एम ट्वान्टी वान’ आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा गुरुङ ‘रुबी’ पात्रको भूमिकामा छिन् । डान्सर बन्न संघर्षरत युवतीको भूमिका निर्वाह गरेकी उनले नृत्यमा आफूलाई पोख्त बनाउन करिब डेढ वर्ष त डान्स सिकेकी थिइन् । तीन वर्षदेखि एउटै फिल्मलाई समय दिँदा उनी ‘रुबी’ पात्रबाट अझै बाहिर निस्कन सकेकी छैनन् ।

सार्वजनिक कार्यक्रममा समेत ‘रुबी’ पात्रको गेटअपमा पुग्ने गरेकी जसिता आफू पनि ‘रुबी’लाई छाड्न नसक्ने बताउँछिन् । उनी भन्छिन्, ‘म आफैंसँग सपना देख्छु । फिल्ममा पनि ‘रुबी’ पात्रले पनि आफूभित्र सपना देख्छे । यसैले मसँग ‘रुबी’ नजिक छिन् । म ‘रुबी’लाई कहिल्यै छाड्न सक्दिनँ ।’ यही फिल्ममा काम गरेपछि जसिता रियालिटी शो ‘सुपर डान्सर’को निर्णायक भएकी थिइन् ।
फिल्मको कथामा आफूले गरेको जस्तै मिहिनेत रियालिटी शोमा पनि प्रतिस्पर्धीले गरेको देख्दा आफूलाई भावुक बनाएको उनको अनुभव छ । उनी भन्छिन्, ‘म ‘सुपर डान्सर’का बाबु-नानीहरुसँग धेरै पटक रोएकी छु । किनकी, मैले फिल्ममा त्यही पात्र बाँचेको छु, जुन ‘सुपर डान्सर’का प्रतिस्पर्धीले बाँचेका थिए । म उनीहरुमा आफू देख्थेँ ।’ ‘रुबी’ आफ्नो सधैं मनमा बस्ने उनको भनाई छ ।
फिल्मकी निर्देशक रेनशा वान्तवा राईले ‘आई एम ट्वान्टी वान’का लागि जसिताले ३ वर्ष समय दिएको बताइन् । उनी भन्छिन्, ‘कुनै पनि कलाकारले ३ वर्षसम्म एउटै प्रोजेक्टका लागि समय दिनु सामान्य कुरा होइन । जसिताले ‘रुबी’ पात्रमा आफूलाई ढाल्न निकै मिहिनेत गरेकी छिन् । उसको काम गर्ने शैलीबाट म प्रभावित भएँ ।’ जसितासँग काम गर्न निकै सहज भएको उनको अनुभव छ ।

