Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्व. बीएस राणाकी पत्नी र छोरीको उपचारार्थ कल्याणकारी कोषको एक लाख सहयोग

फिल्मीखबर, काठमाडौं, 2023/03/23

bhuwan kc

 

स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषबाट एक लाख सहयोग गरिएको छ । बुधबार कोष समितिले हाल उनीहरुलाई आश्रय दिएको ललितपुरस्थित स्नेही काख पुगेर सहयोग प्रदान गरेको हो । बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बशुन्धरा भुषालले रकम हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण समयमा नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्ष मोहन निरौला, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, कलाकार संघकी नवनिर्वाचित उपाध्यक्ष कविता गेलाल, संघकी सह-कोषाध्यक्ष पवित्रा आचार्यलगायतका कलाकारहरुको उपस्थिति थियो ।

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष केसीले राहत कोषमा जरुरी रहेको रकम अझै जुट्न नसकेको कारण इच्छा भएर पनि अप्ठ्यारोमा धेरै रकम सहयोग गर्न सकिने अवस्था नरहेको बताए ।  उनले भने, ‘यदि हामीसँग पर्याप्त रकम हुन्थ्यो भने हामीले दिल खोलेर सहयोग गर्न सक्थ्यौँ । कोषबाहेक बोर्डले अलग्गै आर्थिक सहयोग गर्न सक्ने अवस्था पनि छैन । हामीसँग त्यो क्षेत्राधिकार नै छैन ।’

पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले कोषमा रकम जम्मा गर्न पहल गर्ने आश्वासन दिएको जानकारी दिँदै अध्यक्ष भुवन केसीले राज्यको तर्फबाट कोषमा उल्लेख्य रकम थप हुने विश्वास व्यक्त गरे । आफू अध्यक्ष भएर आउने वितिक्कै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेर पनि यो कुरा राखेको बताउँदै उनले राज्यले कलाकारहरुलाई विशेष चासोमा राख्नुपर्ने आवश्यकता औंल्याए ।

गत फागुन १५ गते राणाकी पत्नी र छोरीलाई गोलढुंगाबाट स्नेही काखले उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरेको थियो । उनीहरुको उपचारका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुले आर्थिक सहयोग जुटाइरहेका छन् । केही दिनअघि अभिनेता सविन श्रेष्ठ र अमेरिका बस्ने सुरेश दर्पण पोखरेलको पहलमा संकलित ३ लाख ८ हजार राणाको परिवारलाई हस्तान्तरण गरिएको थियो ।