Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बहाव’मा काम गर्दा सुरक्षाले बुझेको सुँगाको भावना

फिल्मीखबर, काठमाडौं, 2023/03/22

Surakshya Panta

 

अभिनयमा पारंगत मानिने सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा उनले विद्रोही स्वभावको चरित्र निर्वाह गरेकी छन् । ट्रेलरमा सुरक्षालाई पिंजडाभित्र कैद सुँगासँग संवाद गरेको देखिएको छ । चितवनको एउटै घरमा दुई महिनासम्म फिल्मको वर्कसप र छायांकन हुँदा उनी सुँगासँग नजिकिएकी थिइन् । उनको साथी नै सुँगा भएको थियो ।

‘मैले सुँगासँग दुई महिना विताएँ । हामी जनावर भन्ने वित्तिकै छिछि-दुरदुर गर्छौं । तर, सुँगासँगको मेरो अनुभव केही फरक रह्यो’, सुरक्षा भन्छिन्, ‘मैले पिंजडाको ढोका खोलिदिए पनि सुँगा निस्किएन । उसमा अन्यौलता थियो र डर पनि । उसले हाम्रो भाषा बुझ्ने भए पनि ऊ समझदार थियो । जनावरमा अनौठो किसिमको गुण हुँदो रैछ । फिल्मको कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ ।’

ट्रेलरमा सुरक्षाले सुँगासँग गरेको संवाद छ, ‘तलाईं मन लाग्दैन, त्यो खुल्ला आकाशमा उडान भर्न ?’ यसको उत्तर उनले सँगासँगको सामिप्यताबाट पाइसकेकी छन् । उनी भन्छन्, ‘सुँगालाई उड्न मन लागे पनि ऊभित्र उडानमा खस्ने एक खालको डर छ । ऊसँग गन्तव्य पनि सुनिश्चित छैन । यसैले ऊ पिंजडाभित्र नै रमाइरहेको छ ।’ सुरक्षा आफूलाई फिल्मभित्रको अर्को सुँगा भन्न रुचाउँछिन् ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्ममा प्रमोद कँडेलको लेखन र निर्देशन छ । श्रीधर पौडेल निर्माता रहेको फिल्ममा कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतको पनि अभिनय छ । कार्तिकेय स्मिता कर्नाटकले छायांकन गरेको यो फिल्ममा सुरक्षाका श्रीमान् मानव सुवेदी र बसन्त सापकोटाको संगीत छ ।