
यही शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेत्री रानी मुखर्जी अभिनीत फिल्म ‘मिसेज चटर्जी भर्सेस नर्वे’ र चर्चित कमेडियन कपिल शर्मा स्टारर फिल्म ‘ज्विगाटो’ दुवै घरेलू बक्सअफिसमा दुई रेक्टरको भूकम्प जस्ता भएका छन्, आएको र गएको पत्तो नहुने । दुवै फिल्मले लगानीको एक तिहाइ पनि नउठाउने देखिन्छ । यी दुई फिल्मलाई भारतीय मिडियाले ‘फ्लप’को ट्याग दिइसकेका छन् ।
रानीको फिल्मले प्रदर्शनको पाँच दिनमा ८ करोडमाथिको कलेक्सन गरेको छ भने कपिलको ‘ज्विगाटो’ले बक्सअफिसमा ३ करोड जोडेको छ । प्रदर्शनको पहिलो दिनदेखि नै दुवैको कलेक्सन कमजोर थियो । ‘ज्विगाटो’ १० करोडको लागतमा निर्माण भएको हो भने ‘मिसेज चटर्जी भर्सेस नर्वे’को बजेट २५ करोड हो । कमाईमा कमजोर निस्किए पनि दुवै फिल्मले सुखद् समीक्षा पाएका छन् ।
आशिमा छिब्बरद्वारा निर्देशित ‘मिसेज चटर्जी भर्सेस नर्वे’ एक आमाको कहानीमा आधारित छ, जो आफ्ना दुई सन्तान र श्रीमानसँग नर्वेमा बस्छिन् । तर, एक दिन यस्तो घटना हुन्छ, जसले सबथोक बदलिदिन्छ । मिसेस चटर्जी (रानी मुखर्जी) खराब आमा रहेको भन्दै सन्तानलाई उनीबाट खोसिन्छ । यसपछि आफ्नो सन्तान पाउन उनको लडाईं कसरी सुरु हुन्छ भन्ने फिल्ममा देखाइएको छ ।
त्यस्तै, कमेडी भूमिकामा रुचाइएका कपिल ‘ज्विगाटो’मा गम्भीर भूमिकामा प्रस्तुत छन् । तर, दर्शकले उनलाई गम्भीर भूमिकामा नरुचाएको फिल्मको कलेक्सनले देखाउँछ । यद्यपि, यो फिल्म टोरेन्टो इन्टरनेशनल फिल्म फेस्टिभल, बुसान इन्टरनेशनल फिल्म फेस्टिभल र इन्टरनेशनल फिल्म फेस्टिभल अफ केरलमा प्रदर्शन भैसकेको छ । फिल्मलाई नन्दिता दासले निर्देशन गरेकी हुन् ।

