
आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउन लागेको सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमा सार्वजनिक गरिएको ‘मार्सी धान’ बोलको लोक शैलीको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने राजनराजकै शब्द तथा संगीत छ । विवाहको परिवेशमा तयार पारिएको गीतको अडियो र भिडियो पक्ष बलियो छ ।
विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका कलाकारद्वय विपिन कार्की र केकी अधिकारीको साथमा म्यूजिक भिडियोको हिट जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारी नृत्य गर्दै देखिएका छन् । आश्मा र सरोजको नृत्य दमदार छ । विपिन र केकी फिल्मकै चरित्रमा प्रस्तुत छन् । यो गीतले फिल्ममा कथावाचनको रुपमा भूमिका खेलेको निर्देशक थापाले जानकारी दिए ।
रंग पत्रकार सुशील पौडेलको कथामा तयार भएको फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् । मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको पनि विशेष भूमिका छ । सुभाष थापा प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । एजी फिल्मसँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै फिल्म बनेको हो ।

