
सविन अधिकारीको निर्देशनमा तयार भएको फिल्म ‘गणपति’को आगामी वर्षको जेठ ५ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै मंगलवार पोस्टर सार्वजनिक गरिएको छ । भगवान् गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको पुरुष पात्रलाई ध्यान गरिरहेको अवस्थामा चित्रण गरिएको पोस्टरको पृष्ठभूमिमा फिल्मका प्रमुख कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधान निकै गम्भीर मुद्रामा प्रस्तुत छन् ।
आस्थाको रुपमा रहेका भगवान् र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने फिल्ममा जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायतको पनि अभिनय छ । अधिकारी स्वयंको लेखन रहेको ‘गणपति’मा भुषाल टाइटल क्यारेटरमा छन् ।
निर्देशक अधिकारीले फिल्मले नेपाली समाजको वास्तविक रुपमा चरित्र चित्रण गर्ने बताए । उनले भने, ‘कोही व्यक्ति कुनै बेला त्यही समाजको भगवान् बन्छ भने सोही व्यक्तिलाई हाम्रै समाजले नरकीय व्यवहार गर्छ । त्यसकै वरपर ‘गणपति’को कथा घुमेको छ ।’ ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीको जिकिर छ ।
फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा भएको हो । एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको फिल्ममा हरिबहादुर घलेको छायांकन छ । गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुको स्वर छ । फिल्ममा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालको भनाई छ ।

