केही नेपाली तथा साउथ फिल्ममा सह-निर्देशक भएर काम गरेका गोविन्द सिंह भण्डारीको डेब्यू निर्देशकीय फिल्म ‘रणवीर’ थियो । यो फिल्म सफल नभए पनि उनको निर्देशकीय कौहलताको प्रशंसा भएको थियो । फिल्मलाई उनले साउथ शैलीमा तयार पारेका थिए भने एक्सनमा नयाँ प्रयोग गरेका थिए । यसैले उनलाई एक्सन फिल्ममा सम्भावना बोकेको निर्देशकको रुपमा हेरिएको थियो ।
तर, उनले दोस्रो फिल्म ‘प्रेमा’ लभस्टोरी बनाएका छन् । आखिर किन त ? उनी भन्छन्, ‘लेखनका हिसाबले ‘प्रेमा’ पहिलो हो । मैले ‘प्रेमा’ र ‘रणवीर’को स्क्रिप्ट सँगै लेखेको थिएँ । पहिला ‘प्रेमा’ नै निर्देशन गर्न चाहन्थेँ, तर समय र परिस्थितिले गर्दा ‘रणवीर’ बन्यो ।’ एक्सनभन्दा रोमान्टिक फिल्म बनाउन आफ्नो लागि गाह्रो रहेकाले अबको तीन/चार वर्ष लभस्टोरी फिल्म नै नगर्ने उनी बताउँछन् ।
आगामी चैत १७ बाट प्रदर्शनमा आउन लागेको फिल्ममा शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्रीको प्रमुख भूमिकामा अभिनय छ । तेलुगू, तमिल र हिन्दी डब भर्सन ओटीटीमा रिलिज हुन लागेको फिल्म वास्तविक व्यक्तिबाट प्रभावित भएर लेखिएको निर्देशक भण्डारी खुलाउँछन् । यात्राको क्रममा भेट भएकी एक युवतीको वास्तविक घटनाबाट प्रभावित भएर ‘प्रेमा’ लेखेको उनले बताए ।

‘फिल्मको वास्तविक चरित्र जुन युवतीमा पाएँ, त्यसलाई समातेर अगाडि बढ्न सक्छु भन्ने लाग्यो । किनकि, ऊ साधारण भएर पनि उसमा अरुलाई आफूतिर आकर्षण गर्ने क्षमता छ,’ गोविन्द भन्छन्, ‘त्यो चरित्रलाई लिएर कथा भन्न मन थियो । मान्छेको जीवनमा केही घटना यस्ता हुन्छन्, जुन कहिल्यै पनि बिर्सन सकिँदैन । ‘प्रेमा’को कथा पनि मैले त्यस्तै घटनाबाट प्रभावित भएर लेखेको हुँ ।’
स्क्रिप्ट लेखिरहँदा लेखकको दिमागमा पात्रको चित्र नै कोरिन्छ । तर, ‘प्रेमा’को कथा लेख्दा गोविन्दको दिमागमा पात्रको कपालदेखि शरीरको बनावटसम्म बनिसकेको थियो । ‘रणवीर’मा काम गरिसकेकाले शीर्ष चरित्रमा शुभेक्क्षाले निर्वाह गर्न सक्छिन् भन्ने कुरामा उनी ढुक्क थिए । शुभेक्क्षाले पनि स्क्रिप्ट पढेपछि काम गर्न राजी भइन् । फिल्ममा उनी सुदूरपश्चिमकी युवतीको भूमिकामा छिन् ।
फिल्मको प्रमुख पुरुष पात्रका लागि भने गोविन्दले धेरैजनासँग अडिसन लिए । तर, उनले सोचेको जस्तो पात्र फेला पार्न सकेनन् । त्यही बेला फिल्म सम्पादक कृष्ण भण्डारीले अरुण क्षेत्रीको नाम लिए । अरुण त्यो समयमा फिल्म ‘आइ एम ट्वान्टी वान’मा काम गरिरहेका थिए । कृष्णले अरुणसँग कुरा गरेर उनको तस्विर गोविन्दलाई पठाइदिए । तस्विर हेर्दा उनले खोजकै पात्र भेटे झैं भयो ।
तर, तस्विरमा भन्दा वास्तविकतामा मानिस फरक हुने भएकाले गोविन्दले सुटिङमा अरुणको काम हेर्ने निर्णय गरे । सुटिङमा गएर हेर्दा अरुणको काम, शारीरिक हाउभाउ उनलाई राम्रो लाग्यो । त्यसपछि अडिसनमा बोलाएर उनले अरुणलाई छनोट गरे । अर्को महिला पात्रमा उनले सृष्टि श्रेष्ठलाई चयन गरे । सृष्टिसँग पहिलो सहकार्य भए पनि भण्डारी उनको कामबाट प्रभावित भएका छन् ।
‘सृष्टि काममा ध्यान दिने कलाकार हुन् । यो तरिकाले काम गर्ने मान्छेसँग मैले अहिलेसम्म सहकार्य गरेको थिइनँ’, भण्डारी भन्छन्, ‘सृष्टि प्रि–प्रोडक्सनअन्तर्गत वर्कसपमा नोट लिएरै बस्ने गर्थिन् । म बोलिरहँदा उनी नोट गरिरहेकी हुन्थिइन् । उसले के लेखिरहेको छ भन्ने हामी कसैलाई पनि थाहा हुँदैन थियो । पहिला सृष्टिको फिल्म हेरिसकेको हुनाले काम गर्न गाह्रो हुँदैन भन्ने अनुभव भयो ।’

