Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप खड्काले जिते पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड

फिल्मीखबर, काठमाडौं, 2023/03/20

pradeep khadka

 

अभिनेता प्रदीप खड्काले पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । चैत २ देखि ६ गतेसम्म आयोजना भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करणमा उनी फिल्म ‘प्रकाश’बाट उत्कृष्ट अभिनेता घोषित भएका हुन् । उनीसँगै यही फिल्मबाट दीया मास्के उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् । यो फिल्ममा उनीहरुले आमा-छोराको भूमिका निभाएका थिए ।

प्रदीपले पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड जित्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘अवार्ड पाउँदा आफैंलाई अचम्म लागिरहेको छ । मैले फिल्म गर्न थालेको ७/८ वर्ष भयो । अहिलेसम्म उत्कृष्ट अभिनेताको अवार्ड पाएको थिइनँ । ‘स्टार’ भनेर केही अवार्ड पाएको थिएँ । हुन त मैले ‘प्रकाश’ गर्नुको कारण कलाकारको रुपमा प्रशंसा होस् भन्ने नै थियो । अवार्ड पाउँदा हर्षित छु ।’

त्यस्तै, ‘ऐना झ्यालको पुतली’ले उत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको छ । यही फिल्मबाट सुजित विडारी उत्कृष्ट निर्देशक घोषित भए भने पटकथा लेखकको अवार्ड पनि उनकै पोल्टामा पर्‍यो । जुरी अवार्ड पनि यही फिल्मबाट दिनेश खत्रीले प्राप्त गरेका छन् । ५ दिनसम्म चलेको महोत्सवको समापन समारोहमा नम्रता श्रेष्ठ, प्रियंका कार्कीलगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

महोत्सवमा ३५ देशका ९५ फिल्महरु सहभागी भएका थिए भने देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका विभिन्न हलमा फिल्म प्रदर्शन गरिएको थियो । साथै, हरेक दिन विभिन्न विषयमा नेपाली तथा विदेशी फिल्मकर्मीहरुसँग छलफल समेत चलाइएको थियो । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका अध्यक्ष केपी पाठकले अघिल्ला संस्करणभन्दा यसपटकको महोत्सव भव्य भएको बताए ।