Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक राउतको दाबी- ‘नेपोटिज्म हाम्रो फिल्म इन्डस्ट्रीमा छैन’

फिल्मीखबर, काठमाडौं, 2023/03/20

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा सुरु भएको ग्रुपिज्म र नेपोटिज्मको बहसले नेपाललाई समेत छाडेन । कोरोना महामारीको समयमा यो विषयमा नेपाली फिल्म क्षेत्र नै दुई कित्तामा विभाजित भएको थियो । ग्रुपिज्म र नेपोटिज्म व्याप्त रहेकाले प्रतिभा भएका व्यक्तिहरु अगाडि बढ्न नसकेको कतिपयको धारणा थियो भने कतिपयले यसलाई बहस गर्न आवश्यक विषय नै मानेनन् ।

‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउत भने नेपोटिज्मको कुरा नेपाली फिल्म इन्डस्ट्रीमा गर्नु नै अर्थपूर्ण नरहेको जिकिर गर्छन् । आइतबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को ‘फिल्ममा कास्टिङ : महत्त्व र अभ्यास’ विषयक सेसनमा उनले केही सीमित फिल्मकर्मीले आफ्नो दोस्रो पुस्तालाई फिल्ममा ल्याएको तर त्यसको संख्या नगन्य रहेकाले यो विषयमा बहस गर्नुको अर्थ नरहेको बताए ।

 

dinesh raut


‘नेपोटिज्मको कुरा नेपाली फिल्म इन्डस्ट्रीमा गर्नु नै अर्थपूर्ण हो जस्तो लाग्दैन । किनभने, अलि अगाडिसम्म फिल्ममा काम गर्ने भनेपछि कसैको परिवारले पनि स्वीकृति दिँदैन थियो । परिवारले सन्तानलाई फिल्ममा ल्याउन प्रेरित गर्थेनन् भने त्यहाँनिर परिवारवाद छ भन्ने कुरा कसरी विश्वास गर्ने ? केही सीमित फिल्ममेकरले आफ्नो अर्को पुस्तालाई यही पेशामा ल्याउनुभएको छ । त्यो नगन्य रुपमा छ । धेरै भए १० प्रतिशत होला र त्यो १० प्रतिशतको कुरालाई ल्याएर बहस गर्नुपर्छ जस्तो मलाई लाग्दैन । त्यो हिसाबको नेपोटिज्म हाम्रो फिल्म इन्डस्ट्रीमा छँदै छैन,’ उनले भने ।

अहिलेका स्थापित कलाकारले पनि आफ्नो सन्तानलाई फिल्म क्षेत्रमा ल्याउनुपर्छ भनेर नसोच्ने उनको भनाई छ । उनी नेपाली फिल्ममा नेपोटिज्मभन्दा बरु ग्रुपिज्म रहेको स्वीकार गर्छन् । राउत भन्छन्, ‘ग्रुपिज्म चाहिँ छ, आ-आफ्नो टिम बनाएर काम गरिरहनुभएको छ । तैपनि हाम्रो नेपाली फिल्म इन्डस्ट्री ग्रुपकै कुरा गर्ने हो भने कत्रो नै छ र ! त्यहाँबाट विभाजित हुँदा पनि कत्रो नै हुने हो र !’

उनी ग्रुपिज्मलाई गलत मान्न पनि तयार छैनन् । राम्रो काम निकाल्न एउटै टिमसँग दोहोर्‍याएर काम गर्नुलाई उनी नराम्रो मान्दैनन् । ‘आफूलाई कोसँग काम गर्न सहज हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । काम गरिसकेको कलाकारसँग सहज हुन्छ र पात्र सुहाउँछ भने दोहोर्‍याएर काम गर्नु नराम्रो हो जस्तो मलाई लाग्दैन । त्यसले प्रोजेक्टलाई अझ परिपक्व र उत्कृष्ट बनाउँछ,’ उनी अगाडि भन्छन्, ‘एउटा फिल्म बनाउँदै गर्दा केही समस्या आयो भने प्रोजेक्टलाई नै असर गर्छ । एउटा मेकरले एउटै कलाकारसँग दोहोर्‍याएर काम गर्नुको कारण ‘कम्फर्ट’ खोज्नु हो । नियतबस हामी यो ग्रुपभन्दा बाहिर अरुमा काम गर्दैनौं भन्नु चाहिँ गलत हो ।’

उनले आफूले पनि कलाकारदेखि प्राविधिकसम्म दोहोर्‍याउने गरेको बताए । यसले आफूलाई काम गर्न सहज हुने गरेको उनको अनुभव छ । अपरिचित व्यक्तिसँग काम गर्दा एकअर्कालाई बुझ्दा-बुझ्दै काम सकिने र त्यसको असर प्रोजेक्टमा पर्ने राउत बताउँछन् । फिल्म निर्माणमा सबैको महत्त्वपूर्ण भूमिका हुने भएकाले सबैले एकअर्कालाई नजिकबाट चिन्न र बुझ्न आवश्यक हुने उनको बुझाई छ ।