Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेजनको ‘पाताल लोक २’मा प्रशान्त तामाङ

फिल्मीखबर, काठमाडौं, 2023/03/20

चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङले बलिउडमा आफ्नो अभिनय करिअर सुरु गरेका छन् । उनी एक लोकप्रिय ओटीटी सिरिजको सिक्वेलबाट बलिउड प्रवेश गरेका हुन् । उनी २०२० को सफल सिरिज ‘पाताल लोक’को दोस्रो सिजनमा प्रमुख भूमिकामा छन् । तामाङले आइतबार साँझ आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत् सिरिजको सम्पूर्ण छायांकन पूरा भएको जानकारी गराएका छन् ।

 

prasant tamang


भारतको उत्तर पूर्वी राज्य नागाल्याण्डलगायका ठाउँमा छायांकन भएको क्राइम थ्रिलर सिरिजको छायांकन सकिएपछि सिरिजका मुख्य कलाकार जयदीप अहलावतसहितले प्रशान्तको परिवारसँग भेटघाट समेत गरेका थिए । आफ्नी छोरीलाई जयदीपले बोकेर खेलाएको केही तस्विर प्रशान्तले इन्स्टाग्राम स्टोरीमा राखेका छन् । यो सिरिजबाट जयदीप र प्रशान्तबीच राम्रो सम्बन्ध बनेको छ ।

७४ दिनमा छायांकन सकिएको सिरिजमा प्रशान्तको भूमिकाबारे कुनै जानकारी बाहिरिएको छैन । सिरिजलाई अविनाश अरुण र प्रोसित रोयले निर्देशन गरेका हुन् । सन् २०२३ को अन्त्यतिर अमेजन प्राइम भिडियोमा सिरिज रिलिज हुन सक्नेछ । सिरिजमा जयदीप र प्रशान्तसँगै इश्वक सिंह, अभिशेक बेनर्जी, स्वस्तिका मुखर्जी, निहारिका ल्यारा दत्तलगायतको पनि अभिनय रहेको छ ।

 

prasant tamang


बलिउड अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको ‘पाताल लोक’मा नेपाली महिलाको अपमान गरिएको भन्दै विरोध भएको थियो । पहिलो सिजनको दोस्रो एपिसोडमा महिला प्रहरीले नेपाली पात्रलाई केरकार गर्ने क्रममा अपमानजनक गाली प्रयोग गरेको दृश्य छ । त्यो दृश्यले नेपाली महिलाको अपमान भएको भन्दै अधिकांश नेपाली कलाकारहरुले सामाजिक सञ्जालमा विरोध जनाएका थिए ।

‘पाताल लोक २’बाट बलिउड छिरेका प्रशान्तको नयाँ नेपाली फिल्म ‘परदेशी २’ भने आगामी दशैंमा प्रदर्शन हुँदैछ । उनले ‘गोर्खा पल्टन’, ‘निशानी’, ‘अंगालो यो मायाको’, ‘किन मायामा’ जस्ता फिल्ममा पनि अभिनय गरेका छन् । ‘इन्डियन आइडल’को उपाधि जितेपछि चर्चामा आएका तामाङको ‘मन साइँली’, ‘असारे महिनामा’, ‘शिरीमा शिरी’, ‘रातो रानी’ लगायतका गीतहरु चर्चित छन् ।