Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउड निर्देशक अनुपम बर्वे प्रशिक्षक, ‘झिंगेदाउ’ निर्देशक देउजा प्रशिक्षार्थी

फिल्मीखबर, काठमाडौं, 2023/03/20

चलचित्र विकास बोर्डले भारतीय फिल्म निर्देशक अनुपम बर्वेलाई प्रशिक्षकमा निम्त्याएर आयोजना गरेको तीन दिने पटकथा लेखन तथा निर्देशन विषयक कार्यशाला आइतबार सम्पन्न भएको छ । यही चैत्र ३ देखि ५ गतेसम्म बोर्डको हलमा भएको कार्यशालामा ४८ जना प्रशिक्षार्थी सहभागी थिए । कार्यशाला निःशुल्क थियो । पामे फिल्म फेस्टिभलले कार्यशालाको व्यवस्थापन गरेको थियो ।

 

anupam barve


पूर्व फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणेका एसोसिएट प्रोफेसर समेत रहेका अनुपमले आफूले केही अनुभवी तथा नयाँ मेकरहरूसँग तीन दिन विताउन पाएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘मैले भिन्न वातावरणमा फरक अनुभूति गरेको छु । प्रशिक्षार्थीहरुले मसँग बाँड्नुभएका कथा र कथाका शैलीहरु मेरो लागि निकै नयाँ थिए र मैले पनि धेरै कुरा सिक्ने अवसर पाएँ ।’

प्रशिक्षार्थीको रुपमा यस वर्षको हिट फिल्म ‘झिंगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजा पनि सहभागी थिए । उनी भन्छन्, ‘हामी मेकरले कहिल्यै सिक्ने अवसरलाई छोड्नु हुँदैन । म अन्य सहभागीभन्दा सिनियर भए पनि सँगै बसेर सिक्न कुनै अप्ठ्यारो लागेन ।’ आफ्नो समयमा यस प्रकारले सिक्ने कुनै ठाउँ र अवसर नभएको बताउँदै उनी सिक्नका लागि कार्यशाला उपयुक्त हुने अनुभव साट्छन् ।

 

anupam barve


बोर्ड अध्यक्ष भुवन केसीले सफल फिल्म निर्माणमा संलग्न हुन पटकथा लेखन तथा निर्देशनमा गहिरो ज्ञान हुनु आवश्यक रहेकोले सोही उद्देश्यसहित कार्यशालाको आयोजना गरिएको बताए । यो कार्यशालाबाट प्राप्त अन्तरदृष्टि र ज्ञानले फिल्ममेकरहरूलाई मनोरञ्जनसँगै विचार-उत्तेजक तथा सामाजिक रूपमा सान्दर्भिक फिल्महरू सिर्जना गर्न सक्षम रहन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।