.jpg)
गएको कात्तिकमा प्रदर्शन भएको फिल्म ‘महापुरुष’पछि देशभरका हलमा सन्नाटा छाएको थियो । एकपछि अर्को आशातित फिल्म प्रदर्शनमा आए पनि दर्शक तान्न सकेका थिएनन् । यसैले अधिकांश हल व्यवसायीहरुको आशा फागुन १९ गतेको फिल्म ‘छक्का पञ्जा ४’मा थियो । र, त्यो आशा फिल्मले उत्साहमा परिणत गरेको छ । दुई सातादेखि देशभरका हलहरु दर्शकले खचाखच छन् ।
‘छक्का पञ्जा ४’ हल व्यवसायीहरुका लागि खडेरीपछिको वर्षात बनेको छ । तीन/चार महिनादेखिको घाटा फिल्मले दुई सातामा नै उठाइदिएको छ । ठूलो खर्चमा सुविधा सम्पन्न बनाइएको बनेपाको शुभकामना हलमा फिल्म ‘महापुरुष’पछि कुनै नेपाली फिल्म हाउसफुल हुन सकेका थिएनन् । तर, ‘छक्का पञ्जा ४’ हरेक दिन हाउसफुल हुने गरेको हल सञ्चालक दुर्गालाल प्रधान बताउँछन् ।
प्रधान भन्छन्, ‘फिल्म राम्रो बन्यो भने चल्छ भन्ने गतिलो उदाहरण ‘छक्का पञ्जा ४’ बनेको छ । बिना विदामा पनि फिल्म हाउसफुल छ । शनिबार त दर्शकले टिकट नपाएर फर्किनु पर्छ । ‘कबड्डी ४’पछि यो अवस्था देखिएको हो ।’ शनिबार फिल्मका कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, राज आचार्यले हल आएर दर्शकसँग भेट गरेपछि अझ माहोल बनेको सञ्चालक प्रधानले बताए ।

फिल्म प्रदर्शन भएसँगै कलाकारहरुको टिम हल-हल पुगेर दर्शकसँग भेट गर्दै प्रतिक्रिया बुझिरहेको छ । समीक्षकले औसत भनेको फिल्मलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ । यसैले फिल्मको कमाई २ सातापछि पनि खस्किएको छैन । हेमराज विसी निर्देशित फिल्मले समसामयिक राजनीतिक परिवेशलाई व्यंग्य गरेको छ । फिल्मले यो हप्तासम्ममा १५ करोड कमाउने देखिन्छ ।

