Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोललाई दीपकराजको सान्त्वना- ‘घोडा चढ्ने मान्छे लड्छ’

फिल्मीखबर, काठमाडौं, 2023/03/19

deepakraj giri, deepashree niraula and anmol kc

 

गत फागुन १९ गते दीपकराज गिरी समुहको ‘छक्का पञ्जा ४’ र सुपरस्टार अनमोल केसी अभिनीत ‘छड्के २’ एकसाथ प्रदर्शनमा आएका थिए । यसलाई यस वर्षकै सबैभन्दा ठूलो भिडन्तको रुपमा हेरिएको थियो । तर, प्रदर्शनमा आएसँगै ‘छड्के २’ ओसिएको सलाईको काँटी जस्तो बन्न पुग्यो । ‘छक्का पञ्जा ४’ भने आक्रामक निस्कियो । अहिले यो फिल्म १५ करोड कमाउने दौडमा छ ।

‘छड्के २’ असफल हुनुको एउटा ठूलो कारण ‘छक्का पञ्जा ४’सँगको भिडन्तलाई मानिएको छ । किनकि, ‘छक्का पञ्जा’ले बनाएको आफ्नै दर्शक समुह छ । ‘छड्के’ भने आफैंमा फ्लप फिल्म थियो । त्यसमाथि फिल्मको ट्रेलर र गीतले दर्शकलाई लोभ्याउन सकेन । अन्ततः अनमोलको करिअरकै सबैभन्दा डिजास्टर फिल्म बनेको छ । र, उनलाई धेरैले ‘फ्लप हिरो’को संज्ञा दिन थालेका छन् ।

तर, दीपकराज गिरी घोडा चढ्ने मान्छे लड्ने भन्दै अनमोललाई सान्त्वना दिन्छन् । ‘सबैका फिल्म सधैंभरि सफल हुन्छ भन्ने हुँदैन । कहिले असफल हुन्छ अनि कहिले सफल । अनमोलको धेरै लामो करिअर छ । उमेरले जवान छ । हामी जस्तो उमेर ढल्किएको होइन’, उनी अनमोलको बचाउमा भन्छन्, ‘कलाकारले फिल्म हिट बनाउने होइन । पूरा टिमले हो । सायद टिम राम्रो परेन होला ।’

त्यस्तै, दीपाश्री निरौलाले अनमोललाई ‘फ्लप’ शब्द खर्च नगर्न आग्रह गरेकी छन् । ‘म त अनमोलको ठूलो फ्यान हो । अभिनयदेखि सबै कुरा मनपर्छ । र, अनमोललाई फ्लप भन्न अप्ठ्यारो लाग्छ । किनकि, एउटा कलाकारले मात्र फिल्म हिट हुने होइन । त्यसका लागि सबै कुरा मिल्नु पर्छ । यसै हामी टिमवर्क भनेर हिँड्छौं त ! त्यसैले अनमोललाई ‘फ्लप’ शब्द खर्च नगरौं,’ उनको आग्रह छ ।