Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार संघको अध्यक्षमा मोहन निरौलाले जित्नुका तीन कारण

फिल्मीखबर, काठमाडौं, 2023/03/19

नेपाली फिल्म क्षेत्रको एउटा ठूलो संस्था हो, नेपाल चलचित्र कलाकार संघ । सदस्य संख्यामा चलचित्र प्राविधिक संघपछिको दोस्रो ठूलो संस्था हो भने संघको आफ्नै भवन समेत बनिसकेको छ । यसैले संघप्रति कलाकारहरुको आकर्षण बढ्दो छ, जुन शनिबार काठमाडौंमा भएको निर्वाचनको माहोलले पनि देखाउँथ्यो । यद्यपि, संघले अझै नयाँ पुस्ताका कलाकारलाई समेट्न सकेको छैन ।

संघको आगामी तीन वर्षका लागि मोहन निरौला अध्यक्षमा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै विजयी हासिल गरेका हुन् । निरौला आफू मात्र जितेनन्, उनको प्यानलका महासचिव, दुईमध्ये एक उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पनि निर्वाचित भए । सदस्यहरुमा पनि उनको प्यानलका उम्मेदवार नै धेरै विजयी भएका छन् ।

 

mohan niraula


मोहन र रेजिनाबीच अध्यक्षमा कडा प्रतिस्पर्धा भएको थियो । ३५० मत गणना हुँदा मोहन एक मतले अगाडि थिए । त्यसबेलासम्म जित जसको पनि हुने अवस्था देखिएको थियो । कतिपयले त गोलाप्रथाबाट अध्यक्ष चुन्नुपर्ने अवस्था आउन सक्ने समेत प्रक्षेपण गरेका थिए । तर, अन्तिम ११८ मत गन्दा रेजिनालाई पछि पार्दै मोहनले बाजी मारे । उनले अध्यक्ष जित्नुमा तीन कारण प्रमुख छन् ।

१. रोज राणा र राजकुमार राई एकै ठाउँमा

एकअर्काका दुश्मन मानिन्छन्, रोज राणा र राजकुमार राई । दुवै कट्टर कांग्रेसी हुन् भने दुवैको नेपाली फिल्म सम्बद्ध संघ-संस्थामा बलियो पकड छ । उनीहरुले राजनीति गर्न चाहेको अवस्थामा कुनै पनि संघको निर्वाचनमा माहोल उल्टिन सक्छ भनिन्छ । २०७६ सालको कलाकार संघको निर्वाचनमा त्यो राम्रैसँग देखिएको पनि थियो । यी दुवैले अध्यक्षमा आ-आफ्नो उम्मेदवार च्यापेका थिए ।

रोज राणाको रविन्द्र खड्कालाई समर्थन थियो भने राजकुमार राई सरिता लामिछानेलाई अध्यक्षमा जिताउन खुलेरै लागिपरेका थिए । त्यसबेला धेरैले रविन्द्र र सरिताबीच नभइ रोज र राजकुमारबीच प्रतिस्पर्धा भैरहेको टिप्पणी गरेका थिए । अन्ततः रोज राणाको आर्शिवाद पाएका खड्का विजयी भए । यसपटक पनि दुवैले अध्यक्ष पदमा आ-आफ्नो उम्मेदवार च्याप्ने आँकलन गरिएको थियो ।

तर, प्रदेश सभा सदस्यमा विजयी भएकाले रोजले यसपाली कलाकार संघको चुनावमा चासो दिएनन् । राजकुमार भने पहिल्यैदेखि मोहनको पक्षमा खुलेका थिए । अन्ततः रोजले पनि मोहनलाई नै समर्थन गरे । रोज र राजकुमार दुवैले एउटै उम्मेदवारलाई समर्थन गरेपछि मोहनलाई चुनाव जित्न थप सहज हुन पुग्यो । विजयी भएपछि उनले घुमाउरो रुपमा दुवैलाई धन्यवाद समेत दिएका थिए ।

२. अध्यक्षका आकांक्षीकै समर्थन

पहिला मोहन र रेजिनासँगै अध्यक्षमा रविन्द्र खड्का, सुशान्त कुमार श्रेष्ठ र सविन श्रेष्ठ पनि आकांक्षी थिए । तर, अन्तिममा रविन्द्र, सुशान्त र सविनले मोहनलाई समर्थन गरे । राजकुमार राईको आर्शिवाद पाएका सविन श्रेष्ठ त मोहनकै प्यानलबाट महासचिवको उम्मेदवार बने र जिते पनि । अध्यक्षका आकांक्षीहरुले नै समर्थन गर्ने अवस्था बन्नु मोहनका लागि चुनाव जित्ने अर्को आधार बन्यो ।

त्यसमाथि अघिल्लो निर्वाचनमा रविन्द्रसँग पराजीत भएकी सरिता लामिछाने मोहनको पक्षमा खुलेकी थिइन् । आफूले चुनाव हार्नुको एउटा कारण उनले रेजिना उप्रेतीलाई मान्ने गरेकी छन् । त्यसबेला रेजिनाले रविन्द्रलाई अध्यक्षमा समर्थन गर्दै उनको प्यानलबाट उपाध्यक्ष लडेकी थिइन् । त्यही बेलाको इगो साँध्न यसपटक उनी रेजिनालाई हराउन भित्री रुपमा लाग्नु मोहनलाई फलिफाप भयो ।

३. पुराना कलाकारको मत

कलाकार संघमा झन्डै चार सय आजीवन सदस्य छन्, जसमा प्रायः पुराना कलाकारहरु छन् । मोहन अघिल्लो पुस्ताका अधिकांश कलाकारसँग नजिक भएका कारण उनलाई आजीवन सदस्यहरुको मत उल्लेख्य झर्‍यो । नयाँ कलाकारको मत भने प्रायः रेजिनाले पाइन्, तर त्यो मत चुनाव जित्नका लागि पर्याप्त थिएन । मोहन निरौलाले अध्यक्षमा चुनाव जित्नुको एउटा मुख्य आधार यो पनि हो ।