नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा विजयी भएका मोहन निरौलाले आफूसँग पराजीत भएकी रेजिना उप्रेतीलाई पनि संघमा सम्मानपूर्वक समेट्ने प्रतिबद्धता जनाएका छन् । रेजिनाले आफूलाई खादा लगाएर बधाई दिने क्रममा निरौलाले उनले चाहेको रुपमा सम्मानपूर्वक संघमा समेट्ने वाचा गरेका हुन् । उनले आफूहरुबीच अस्वस्थ प्रतिस्पर्धा र कटुता नभएको पनि जिकिर गरे ।
निरौलाले भने, ‘हामीबीच अस्वस्थ प्रतिस्पर्धा थिएन । हामी सँगै छौं र ऐक्यबद्ध छौं । उहाँ कुन रुपमा जान चाहनुहुन्छ, सम्मानपूर्वक समेट्छौं । र, हामी चलचित्र कलाकारहरुको वर्गीय हितमा लाग्नेछौं ।’ उनले आफूहरु विवादित रुपमा चुनावमा नउठेको बताउँदै कुनै पार्टीगत स्वार्थबाट प्रेरित पनि नरहेको बताए । सबै कलाकार एक ढिक्का भएर पेशागत सुरक्षामा काम गर्ने उनको भनाई छ ।
त्यस्तै, रेजिना उप्रेतीले चुनावी नतिजालाई आफूले सामान्य रुपमा लिएको प्रतिक्रिया दिँदै संघको साथमा आफू सधैं रहने बताइन् । ‘दाईहरुलाई हेरेर म अगाडि बढेको हुँ । दाईसँग म यसरी एकसाथ उभिन पाउनु पनि मेरो सफलता हो,’ उनले भनिन्, ‘यसलाई मैले हारभन्दा पनि जितको रुपमा परिणत गरेर कलाकार संघलाई अगाडि बढाउनमा दाईसँग हातमा हात मिलाएर काम गर्नेछु ।’
उनी चुनावमा हुने जित-हारलाई ‘लक’को रुपमा पनि लिन्छिन् । ‘जीवनमा सोचेका सबै कुरा पाइन्छ भन्ने छैन । ‘लक’को कुरा पनि रैछ । यद्यपि, म खुसी छु । सदस्य भएको नाताले संघका लागि गर्नुपर्ने कामहरु बाहिर बसेर पनि गर्नेछु । मैले ल्याएका एजेन्डाहरु बाहिर बसेर भए पनि कार्यान्वयन गर्न सकिन्छ । काम गर्नका लागि पदमा नै बस्नु पर्छ भन्ने मेरो मान्यता छैन,’ उनले भनेकी छन् ।

