‘बाहुबली’, ‘केजीएफ’, ‘आरआरआर’, ‘पुष्पा’ जस्ता फिल्मको सफलतापछि साउथमा यही शैलीमा फिल्म निर्माण हुने क्रम बढेको छ । तर, रुचाइने र व्यावसायिक रुपमा सफल हुने फिल्मको संख्या ज्यादै कम छ । शुक्रबारबाट प्रदर्शन थालनी गरेको साउथ फिल्म ‘कब्जा’को ट्रेलर सार्वजनिक भएपछि यसलाई दोस्रो ‘केजीएफ’ भनिएको थियो । तर, ‘केजीएफ’को कमजोर कपी निस्किएको छ ।
फिल्ममा उपेन्द्र, किच्चा सुदीप, शिवा कुमार, श्रिया सरन जस्ता सुपरस्टारहरु छन् । तर, फिल्म कथावस्तु र प्रस्तुतिकरणमा चुक्दा ‘केजीएफ’को सस्तो कपी बनेको भन्दै सामाजिक सञ्जालमा व्यापक टिका-टिप्पणी भैरहेको छ । फिल्म हेरेका भारतीय दर्शकहरुले फेसबुक, इन्स्टाग्राम र ट्विटरमा आफ्नो भडास पोखिरहेका छन् । उपेन्द्रको अभिनयलाई पनि निकै खराब प्रतिक्रिया मिलेको छ ।
फिल्म हेर्ने दर्शकले पैसा र समय दुवै बर्बाद भन्दै हेर्न नजान अभियान नै चलाएका छन् । ट्रेलर सार्वजनिक भएपछि नेपालमा पनि ‘कब्जा’को पखाई चुलिएको थियो । भारतबाट फाइल नआउँदा शुक्रबार नेपालमा रिलिज हुन नसकेको फिल्म शनिबार दिँउसोबाट प्रदर्शनमा आउँदैछ । तर, भारतमा नै अत्यन्त खराब प्रतिक्रिया पाएको फिल्मले नेपालमा वितरकको पैसा मात्र डुबाउने देखिन्छ ।
‘कब्जा’ कन्नड भाषामा बनेको हो, जसलाई आर चन्द्रूले निर्देशन गरेका हुन् । फिल्मलाई हिन्दी, मलयालम, तेलुगू र तमिल भाषामा एकसाथ प्रदर्शन गरिएको छ । फिल्मको पृष्ठभूमि भारत स्वतन्त्र हुनुभन्दा ५ वर्ष पहिला अर्थात् १९४२ को छ । नवभारत टाइम्सले फिल्मबारे गरेको समीक्षामा ‘केजीएफ’मा यशले निभाएको चरित्र उपेन्द्रमाथि लगभग हुबहु फिल्मांकन गरिएको उल्लेख गरेको छ ।

