आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको रेनशा वान्तवा राई निर्देशित फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारलाई देखाउँदै सार्वजनिक गरिएको ‘कथा’ बोलको गीतमा फिल्मका प्रमुख दुई पात्र धिरज गुरुङ र जसिता गुरुङ फिचर्ड छन् । गीतमा उनीहरुको ‘डान्स मुभ’ सशक्त छ ।
गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको युगल स्वर, किरण थापाको शब्द रचना र रोहित शाक्य तथा किरण थापाको संगीत रहेको छ । भारतको चर्चित डान्स रियालिटी शो ‘डान्स प्लस-२’को उपविजेता द वाइल्ड रिपर्च क्रिउको कोरियोग्राफी रहेको गीतले धिरज र जसिताबीचको प्रेमभाव बोल्नुका साथै नृत्यप्रति उनीहरुको मोह देखाएको छ । यी दुईले नृत्यमा गरेको मिहिनेत गीतमा देखिन्छ ।
यो फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि अभिनय छ । फिल्ममा रेनशा स्वयंको कथा र पटकथा छ भने संवादमा उनलाई सोमनाथ खनालले सघाएका छन् । आइकोर फिल्म्सको ब्यानरमा प्रभु शमशेर जबरा राना र प्रज्ज्वल शमशेर जबरा रानाले फिल्म निर्माण गरेका हुन् ।
नृत्यको विषयमा निर्माण भएको फिल्ममा कालिप्रसाद बाँस्कोटा तथा रोहित शाक्यको संगीत, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । कोरियोग्राफीले आफूलाई पहिचान दिएकाले आफूले पनि केही दिनुपर्छ भन्ने लागेर नृत्यको विषयमा फिल्म बनाउने प्रयास गरेको निर्देशक रेनशाले बताइन् । तर, नेपालमा नृत्यमा आधारित फिल्म बनाउन गाह्रो रहेको उनको अनुभव छ ।

