
बहुपति प्रथामा आधारित भएर निर्माण भएको फिल्म ‘टुल्की’को प्रदर्शन मिति हेरफेर भएको छ । यही चैत ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा अब २ महिना पछाडि गर्दै आगामी जेठ १२ गतेबाट फिल्म प्रदर्शनमा आउने भएको छ । यो फिल्मले अघिल्लो वर्ष नेपाल ग्रामिण चलचित्र महोत्सव (नेरुफ)मा उत्कृष्ट फिचर फिल्म र ‘स्क्रिनप्ले’ गरी दुईवटा अवार्ड जित्न सफल भएको थियो ।
‘द पाल्म ग्रुप’को ब्यानरमा निर्माण भएको फिल्मलाई हिमाली जिल्ला डोल्पामा छायांकन भएको हो । देवजङ्ग थापाद्वारा निर्देशित फिल्ममा सुशील अधिकारी र नमराज घिमिरेको छायांकन छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा छन् । फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने पटकथा लेखन निर्माता शेखर लामा स्वयंको छ ।
तारा थापा ‘किम्भे’को सम्पादन, संजिव सुब्बाको पार्श्व संगीत, लिगेश भट्टराई तथा रमेश बुढाथोकीको कोरियोग्राफी रहेको फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बु, नरेन्द्र तामाङ, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, सोम लामा, रत्नप्रसाद न्यौपानेलगायतको अभिनय छ । यो फिल्मलाई अभिनेत्री सुहाना थापाको त्रिनेत्रम डिस्ट्रिब्युसन कम्पनीले वितरण गर्नेछ ।

