टेक पौरखी राईको निर्देशनमा बन्न लागेको फिल्म ‘जय हो’को औपचारिक रुपमा घोषणा गरिएको छ । बिहीबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको निर्माण घोषणा गर्दै आगामी भदौ ८ गतेलाई प्रदर्शन मिति पनि घोषणा गरियो । आगामी चैत्र ५ गते (आइतबार)देखि छायांकनमा निस्कने फिल्मलाई मुस्ताङमा ९० प्रतिशत र तालनगरी पोखरामा १० प्रतिशत खिचिनेछ ।
.jpg)
सलोन सलिना फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङसँगै अतिथि कलाकारमा रोहित रुम्बा छन् । कमेडी, एक्सन र लभस्टोरीको मिश्रण रहने फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार रहेका छन् भने प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।
सौरभ लामाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन रहने फिल्मको मुख्य सहायक निर्देशकमा दिप्त प्रकाश अधिकारी, प्रोडक्सन म्यानेजरमा केबलमान सिङ बस्नेत र गणेश भण्डारी, निर्माण संयोजकमा सुभाष काफ्ले छन् । ‘जय हो’मा सुरेश न्यौपानेको कथा, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।
.jpg)
फिल्मको घोषणा कार्यक्रममा सलोन बस्नेतले ‘जय हो’बाट आफूले नयाँ यात्राको सुरुवात गर्न लागेको बताए । उनले भने, ‘अब नयाँ तरिकाले काम गर्नुपर्छ भन्ने लागेको छ । मैले ‘होस्टेल’मा काम गरेको पनि १० वर्ष भएछ । यो अवधिमा मैले जति पनि फिल्म गरेँ, त्यसबाट सिकेका कुरालाई जोडेर ‘जय हो’बाट नयाँ यात्राको सुरुवात गर्ने सोचेको छु । हामी राम्रो फिल्म बनाउने कोसिसमा छौं ।’

