निर्देशक हेमराज विसी र अभिनेता अनमोल केसी नेपाली फिल्मका हिट जोडी हुन् । अनमोललाई ‘स्टार’ बनाउने श्रेय हेमराजलाई जान्छ भने हेमराजलाई निर्देशकको रुपमा चिनाउने श्रेय अनमोललाई दिने गरिन्छ । किनकि, अभिनेता र निर्देशकको रुपमा दुवैको सुरुवात एउटै फिल्मबाट भएको थियो । त्यो फिल्म थियो, ‘होस्टेल’ । पहिलो फिल्म नै सफल हुँदा दुवै फिल्म क्षेत्रमा स्थापित भए ।
‘होस्टेल’पछि उनीहरुको सहकार्य ‘जेरी’ र ‘गाजलु’मा भयो । यी दुवै फिल्म पनि सुपरहिट भए । एउटै निर्देशकसँग तीनवटा फिल्म सुपरहिट दिएपछि अनमोल सुपरस्टार कहलिए । हेमराजले हिटमा ह्याट्रिक गरे । दुवैलाई एकअर्कासँगको टिमअप राम्रो फापेकाले ‘गाजलु’पछि उनीहरुबीच फिल्म ‘ग्याङस्टर ब्लूज’मा पनि सहकार्य निश्चित भएको थियो । तर, पछि अनमोलले काम गर्न मानेनन् ।
.jpg)
अनमोलबिनाको पहिलो फिल्म नै हेमराजको फ्लप भयो । ‘ग्याङस्टर ब्लूज’पछि ‘द ब्रेकअप’ र ‘घामड शेरे’ बनाए, ती पनि चलेनन् । तीनवटा फिल्म फ्लप भएपछि हेमराजलाई अनमोल मात्र फाप्ने टिप्पणी सुरु हुन थाल्यो । तर, यतिबेला प्रदर्शनत उनी निर्देशित ‘छक्का पञ्जा ४’ले राम्रो कमाई गरिरहेको छ । हुन त यो फिल्म चल्नुको श्रेय उनलाई भन्दा बढी दीपक-दीपाको समुहलाई जान्छ ।
‘छक्का पञ्जा ४’को भिडन्त अनमोल अभिनीत फिल्म ‘छड्के २’सँग भएको थियो । तर, यो भिडन्त ‘छड्के २’का लागि भारी पर्यो । यसअघि पनि हेमराजको ‘द ब्रेकअप’ अनमोल स्टारर फिल्म ‘क्याप्टेन’सँग भिडेको थियो । त्यसबेला ‘क्याप्टेन’ले बाजी मारेको थियो । अनमोलले आफ्नो फिल्म गर्न नमानेको इगो साँध्नका लागि निर्देशक विसीले ‘क्याप्टेन’सँग ‘द ब्रेकअप’ भिडाएको पनि भन्ने गरिन्छ ।
जे होस्, विगतका तीता कुरा बिर्सेर हेमराज र अनमोल ७ वर्षपछि एकसाथ काम गर्दैछन् । ‘जेरी’को नेम सिक्वेल ‘जेरी अन टप’मा उनीहरुको सहकार्य भएको हो । अहिले उनीहरु स्क्रिप्ट र चरित्रको बारेमा छलफलमा छन् । एकअर्काका लागि ‘लक्की’ मानिएका हेमराज र अनमोललाई व्यावसायिक सफलताको दबाब छ । अझ विशेष अनमोललाई, किनकि ‘छड्के २’ डिजास्टर भएको छ ।

