
डेब्यू फिल्म ‘रणवीर’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका गोविन्द सिंह भण्डारीद्वारा निर्देशित फिल्म ‘प्रेमा’लाई हिन्दी र तेलुगू भाषामा स्वरांकन (डब) गरिएको छ । नेपालमा प्रदर्शनपछि फिल्मलाई भारतको ओटीटी प्लेफर्ममा रिलिज गर्ने योजनामा निर्देशक भण्डारी छन् । बुधबार राजधानीमा आयोजित गीत सार्वजनिक कार्यक्रममा तेलुगू भाषाको ट्रेलर पत्रकारहरुलाई देखाइएको थियो ।
नेपाली फिल्मको बजार अन्य मुलुकमा पनि खोज्नुपर्छ भन्ने उद्देश्यले ‘प्रेमा’को हिन्दी र तेलुगूमा डबिङ गरिएको निर्देशक भण्डारीले बताए । उनले भने, ‘हलिउडदेखि बलिउडसम्मले अन्य देशमा पनि आफूलाई फैलाएका छन् । हामीले पनि त्यो गर्नुपर्छ भन्ने सोचले फिल्मको हिन्दी र तेलुगूमा डबिङ गरेका हौं । भारतमा फिल्मलाई हलमा भन्दा पनि ओटीटी प्लेटर्फममा रिलिज गर्ने उद्देश्य छ ।’
बुधबार सार्वजनिक गरिएको ‘फूल यो चुँडेर’ गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द रचना र सुशान्त गौतमको संगीत छ । फिल्मका प्रमुख पात्रहरु शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री प्रस्तुत गीतले प्रेम वियोग बोल्छ । गीतमा अरुणले रियालिटी शो ‘सुर सितारा’मा गीत गाएर प्रेम पीडा पोखेका छन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको गीतबाट पनि प्रष्ट हुन्छ ।
यही चैत १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)को पनि अभिनय छ । निर्देशक भण्डारी र विवेक घिमिरे निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् । यो फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा बनेको हो ।

