Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झिंगेदाउ’ले ज्ञानेन्द्र देउजालाई दिएको पूर्नजन्म

फिल्मीखबर, काठमाडौं, 2023/03/15

कलाकार हुन् वा निर्देशक, हिट फिल्मको भोका दुवै हुन्छन् । किनकि, फिल्म हिट हुँदा करिअर सन्तुलित रहन्छ । चर्चा र कामको कमी हुन्न । फिल्ममा लामो यात्रा गर्नका लागि यी दुई कुराको तालमेल हुन अत्यावश्यक हुन्छ । तर, फिल्म बनाउन जति गाह्रो छ, व्यावसायिक रुपमा सफल हुन त्योभन्दा मुश्किल छ । अहिलेको अवस्थामा त झन् फिल्म हिट दिन सक्नु इतिहास रच्नु बराबर हो ।

यसमानेमा ज्ञानेन्द्र देउजाले इतिहास रचे भन्दा गलत नहोला । किनकि, उनले यो वर्ष ‘झिंगेदाउ’ जस्तो हिट फिल्म दिएका छन् । न ब्रान्ड नाम, न हिट फिल्मको सिक्वेल, न आक्रामक प्रचार, न ठूला स्टार, सिर्फ मौलिक कन्टेन्ट र परिपक्व निर्देशनकै भरमा फिल्म सफल बन्यो । यो फिल्मले देउजालाई निर्देशनमा नै पूर्नजन्म गराएको छ । किनकि, ‘हिफाजत’यता उनका फिल्म सफल थिएनन् ।

 

Gyanendra Deuja


उनले फिल्म ‘वुद्ध वर्न इन नेपाल’ रिलिजको ७ वर्षपछि ‘झिंगेदाउ’बाट निर्देशनमा पुनरागमन गरेका थिए । र, कमब्याक नै उनको धाँसु भयो । अहिले उनको हातमा फिल्मको कमी छैनन् । उनी आफैं ‘झिंगेदाउ २’ बनाउने तयारीमा छन् भने आगामी बैशाखबाट रेखा थापाको निर्माण र अभिनय रहने फिल्मको निर्देशन गर्दैछन् । उनीसँग निर्माता छविराज ओझाको फिल्म ‘जेल ब्रेकर’ पनि छ ।

‘झिंगेदाउ’को सफलतापछि उनको निर्देशनमा विश्वास गर्ने निर्माता मात्र बढेका छैनन्, स्टार कहलिएका कलाकारहरु समेत उनको नाम जप्न थालेका छन् । रेखा थापाले यसै उनलाई आफ्नो फिल्मको निर्देशनको कमान्ड सुम्पिएकी होइनन् र पूजा शर्मा यसै काम गर्न राजी भएकी होइनन् । दर्शकको नाडी छामेर राम्रो फिल्म बनाउन सक्छन् भन्ने विश्वास उनीप्रति ‘झिंगेदाउ’बाटै पलाएको हो ।

हुन त कुनै बेलाका उनी हिट मेशिन हुन् । उनका ‘बरमाला’, ‘हामी ट्याक्सी ड्राइभर’, ‘हिफाजत’, ‘देवर बाबु’ सफल फिल्ममा पर्छन् । तर, डिजिटल युगसँगै नेपाली फिल्मको निर्माण शैलीदेखि दर्शकको रुचि समेत फेरिएको छ । यसैले देउजा एनलग जमानाको निर्देशक रहेको भन्दै रिलिजअघि ‘झिंगेदाउ’लाई ख्यालख्याल सोचिएको थियो । तर, उनले आफूलाई निर्देशनमा पुनः सावित गरे ।