Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बहाव’मा हरेक नेपालीको घरको कथा छ : श्रीधर पौडेल

फिल्मीखबर, काठमाडौं, 2023/03/14

फोटो पत्रकारितामा गर्विलो नाम बनाएका श्रीधर पौडेलको परिचय फिल्म निर्माताको रुपमा पनि छ । राष्ट्रिय पुरस्कार जित्न सफल फिल्म ‘गोपी’ उनको पहिलो निर्माण थियो । व्यावसायिक रुपमा फिल्म सफल बन्न नसके पनि उनले जुन विषयमा लगानी गर्ने आँट गरे, त्यो आफैंमा प्रशंसनीय थियो । फिल्मले कृषकले बेहोर्नुपर्ने समस्या बोलेको थियो भने पशुपालनमा सम्भावना देखाएको थियो ।

उनै, पौडेलद्वारा निर्मित दोस्रो फिल्म ‘बहाव’ आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । निर्देशक तथा लेखक प्रमोद कँडेलले उनलाई पहिलो चरणमा स्क्रिप्ट ‘न्यारेट’ गरेर सुनाएका थिए । उनलाई स्क्रिप्ट पृथक लाग्यो । अनि, लगानी गर्न हौसिहाले । श्रीधर सम्झन्छन्, ‘स्क्रिप्ट सुनेपछि कथा फरक लाग्यो । र, यो कथा भन्न जरुरी छ भन्ने लागेपछि म निर्माताको रुपमा जोडिएको हुँ ।’

 

Shreedhar Poudel


फिल्ममा अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका छ । ट्रेलर हेर्दा उनमा विद्रोहको ज्वाला दन्किएको देखिन्छ । सुरक्षा अहिलेसम्मका फिल्मभन्दा केही फरक रुपमा प्रस्तुत भएको र उनको प्रेमी, विद्रोही र पागलपन भावले दर्शकलाई प्रभावित पार्ने निर्माता पौडेलको विश्वास छ । ‘बहाव’ले हरेक नेपालीको घरको कथा उठान गरेका कारण दर्शकले अपनत्व महसुस गर्नेमा श्रीधर पूर्ण विश्वस्त छन् ।

पहिलो फिल्म ‘गोपी’ निर्माणमा आफूले सिकेका कुरालाई ‘बहाव’मा प्रस्तुत गर्ने प्रयास गरेको उनी बताउँछन् । निर्देशकले सुनाएको कथाअनुसार नै फिल्म बनेको दाबी गर्दै उनी अगाडि भन्छन्, ‘निर्देशक-लेखकले भन्न खोजेको कथामा म सहमत छु र ‘कन्भिन्स’ पनि छु । म ‘कन्भिन्स’ हुनु भनेको मजस्तो विचारधारा बोक्नेहरुलाई पनि फिल्मले ‘कन्भिन्स’ गराउँछ भन्ने लाग्छ,’ पौडेल भन्छन् ।

एबीसी टेलिभिजन, नयाँ पत्रिका दैनिक, कान्तिपुर दैनिक, अनलाइन खबर र शुक्रबार साप्ताहिकलगायतका सञ्चार संस्थामा फोटो पत्रकारिता विधामा लामो अनुभव संगालिसकेका श्रीधरले विगत केही वर्षदेखि मनोरञ्जन सम्बन्धी ‘मेरो फिल्म’ नामक अनलाइन सञ्चालन गर्दै आइरहेका छन् । पौडेलले धेरै नेपाली फिल्म तथा कमर्शियल विज्ञापनको पोस्टर फोटोग्राफी पनि गरिसकेका छन् ।

‘बहाव’मा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको पनि अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ तथा कार्तिकेय स्मिता कर्नाटकको छायांकन छ ।