Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा थापासँग फिल्म गर्न लागेकी पूजा भन्छिन्, ‘सपना जस्तो लाग्दैछ’

फिल्मीखबर, काठमाडौं, 2023/03/14

Pooja Sharma and rekha thapa

 

एक समयकी ‘नम्बर वान नायिका’ रेखा थापा तीन वर्षपछि पर्दामा फर्किने प्रयासमा छिन् । आगामी बैशाखबाट छायांकन सुरु हुन लागेको फिल्मका लागि अहिले उनी कलाकार छनोटमा व्यस्त छिन् । उनकै निर्माण तथा मुख्य भूमिका रहने फिल्ममा सोमबार अभिनेत्री पूजा शर्मा अनुबन्ध भएकी छन् । निर्देशक ज्ञानेन्द्र देउजालाई साक्षी राख्दै रेखाले पूजासँग कागजी सम्झौता गरेकी हुन् ।

फिल्ममा काम गर्ने सम्झौता गरेपछि पूजाले फेसबुक र इन्स्टाग्राममा रेखा थापासँग एउटै पर्दामा देखिनु आफ्नो लागि सपना जस्तो रहेको बताएकी छन् । रेखा थापा जस्तै बन्ने सपना बोकेर आफू फिल्म क्षेत्रमा आएको उल्लेख गर्दै उनले लेखेकी छन्, ‘आफ्नो बेस्ट नायिकासँग पर्दा शेयर गर्न पाउँदा हर्षित छु । रेखा दिदीको साथमा नयाँ फिल्ममा काम गर्दा धेरै कुरा सिक्नेछु भन्ने लागेको छ ।’

निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशन र व्यवहारबाट आफू सधैं प्रभावित रहेको पनि उनले उल्लेख गरेकी छन् । ‘प्रिय, ज्ञानेन्द्र दाइको निर्देशनमा रेखा दिदीसँग एउटै पर्दामा देखिनु मेरा लागि कहीँ कतै सपना नै हो कि जस्तो पनि लाग्दैछ । तर, फिल्म क्षेत्रमा आएर केही फिल्म गर्दै गर्दा दर्शकले मलाई अथाहा प्रेम दिनुभएको छ । तर, यो फिल्म मेरा लागि सधै विशेष हुनेछ,’ उनले लेखेकी छन् ।

नाम नजुरिसकेको फिल्ममा रेखा र पूजासँगै आँचल शर्माको पनि अभिनय रहनेछ । आँचलसँग रेखाको मौखिक सहमति भैसकेको छ । केही दिनमा कागजी सम्झौता हुनसक्ने जानकारी प्राप्त छ । रंगकर्मी सुलक्षण भारतीको लेखन रहेको फिल्म महिला प्रधान रहने निर्देशक देउजाले बताएका छन् । यस वर्ष उनी निर्देशित फिल्म ‘झिंगेदाउ’ घरेलू बक्सअफिसमा ब्लकबस्टर भएको थियो ।