आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको डान्स ड्रामा फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’मा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा छन् । तर, निर्माण टिमले फर्स्टलुक भिडियो, फर्स्टलुक पोस्टर र टिजरमा धिरजलाई मात्र स्थान दिएको थियो । यी कुनैमा पनि जसिताले ठाउँ पाएकी थिइनन् । अब भने उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।
मंगलबार सार्वजनिक पोस्टरमा जसिता दुई फरक अवस्थामा चित्रित छिन् । एकातिर उनी शान्त र स्थिर भावमा देखिएकी छन् भने अर्कोतिर डान्सिङ मूडमा प्रस्तुत छिन् । पोस्टरमा उनको चरित्रको नाम ‘रुबी’ उल्लेख छ, जसको अर्थ ‘बहुमूल्य’ हुन्छ । फिल्ममा उनी नृत्यमा सौखिन पात्रको रुपमा रहेको पोस्टरले छनक दिन्छ । जसिता पछिल्लो पटक फिल्म ‘लभ स्टेशन’मा देखिएकी थिइन् ।
.jpg)
रेनशा वान्तवा राईले फिल्मको निर्देशन गरेकी हुन् । कोरियोग्राफर समेत रहेकी उनले यसअघि ‘इन्टु मिन्टु लण्डनमा’को निर्देशन गरेकी थिइन् । नृत्यको विषयमा बनेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि अभिनय छ । फिल्ममा रेनशा स्वयंको कथा र पटकथा छ ।
आइकोर फिल्म्सको ब्यानरमा प्रभु शमशेर राणा र प्रज्ज्वल शमशेर राणा निर्माता रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटा तथा रोहित शाक्यको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन र द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ । निर्देशक राईले नृत्यको विषयवस्तुमाथि फिल्म बनाउन एकदमै चुनौतीपूर्ण र कठीन हुने भए पनि आफूले इमानदार कोसिस गरेको बताएकी छन् ।

