
यस वर्षको ब्लकबस्टर साउथ इन्डिया फिल्म ‘आरआरआर’मा समावेश चर्चित गीत ‘नाटू नाटू’ले संसारकै प्रतिष्ठित ओस्कार अवार्ड जितेको छ । सोमबार लस एन्जलिसको डल्बी थिएटरमा भैरहेको ९५औं ओस्कार अवार्डमा उक्त गीतले ‘बेस्ट ओरिजिनल सङ’को अवार्ड जितेको हो । ओस्कारको मञ्चमा उक्लिएर गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरवानीले ट्रफी लिएका थिए ।
ओस्कार अवार्डमा ‘आरआरआर’का निर्देशक एसएस राजामौली, अभिनेताद्वय रामचरण र जूनियर एनटीआर पनि सहभागी थिए । यसअघि गोल्डेन ग्लोबको ८०औं संस्करणमा पनि ‘नाटू नाटू’ गीतले ‘बेस्ट ओरिजिनल सङ मोसन पिक्चर’को अवार्ड हात पारेको थियो । ओस्कार अवार्ड जितेसँगै ‘नाटू नाटू’ गीतलाई लिएर विश्वव्यापी चर्चा सुरु भएको छ भने भारतमा खुसीको लहर छाएको छ ।
कसरी तयार भएको थियो ‘नाटू नाटू’ गीत ?
निर्देशक एसएस राजामौली, संगीतकार एमएम किरावानी र गीतकार चन्द्रबोसले यो गीतमा १७ जनवरी २०२० बाट काम गर्न सुरु गरेका थिए । काम हैदराबादस्थित एल्यूमीनियम फ्याक्ट्रीमा रहेको ‘आरआरआर’को कार्यालयबाट सुरु भएको थियो । चन्द्रबोस आफ्नो कारमा बसेपछि उनी गीतको बारेमा सोच्न थाले । यतिक्कैमा उनको दिमागमा गीतको एउटा हुकलाइन फुर्यो, ‘नाटू नाटू’ ।
दुई दिनमा उनले गीतको तीन अन्तरा तयार पारे र संगीतकार किरावानीसँग भेट गरे । संगीतकार किरावानीलाई पनि चन्द्रबोसको गीत मनपर्यो । ९० प्रतिशत गीत दई दिनमा तयार भएको थियो । तर, केही परिवर्तन र सम्पादनपछि यो गीत तयार हुन १९ महिना लागेको थियो । यो अवधिमा चन्द्रबोस र किरावानीले गीतलाई अझ निखार्न विभिन्न व्यक्तिसँग सल्लाह-सुझाव समेत लिएका थिए ।
‘नाटू नाटू’ गीतको अडियो तयार भएपछि फिल्मका प्रमुख अभिनेता एनटीआर र राम चरण दुवैको नृत्य क्षमताको परीक्षा लिइयो । कोरियोग्राफर प्रेम रक्षितले यो गीतका लागि लगभग ९५ वटा स्टेप कम्पोज गरे । सिग्नेचर स्टेपका लागि उनले ३० भर्जन तयार गरे । विशेषगरी त्यो दृश्यमा, जहाँ एनटीआर र रामचरण हातमा हात समातेर नाचेका थिए । यो दृश्यका लागि १८ टेक लिइएको थियो ।

