‘नेपालमा अर्पण थापा र इन्डियामा केके मेनन, दुवै असली रत्न हुन् र अन्डररेटेड एक्टर ।’
माथिको यो प्रतिक्रिया फिल्म ‘प्रसाद २’को ट्रेलरको कमेन्ट बक्स भेटिएको हो । एक हप्ताअघि सार्वजनिक भएको ट्रेलरको कमेन्ट बक्समा अर्पणको अभिनयलाई लिएर तारिफको पुल बाँधिएका यस्ता प्रतिक्रिया बग्रेल्ती छन् । उनको सशक्त अभिनय, चोटिलो पञ्चलाइन, पृथक हाउभाउ र भिन्न गेटअपले ट्रेलरलाई रोचक बनाएको छ । उनले बोलेको एउटा दुईअर्थी संवाद त भाइरल नै छ ।
ट्रेलरमा अर्पण नकारात्मक भूमिकामा चित्रित छन् । जातीय अवस्था बदल्न राजनीतिमा होमिएको बाबुराम पात्र (विपिन कार्की)लाई रोक्न अर्पणको चरित्रले गर्ने गतिविधिलाई ट्रेलरमा निकै रोचक ढंगमा बुनिएको छ । पर्दामा हिरो बलियो देखिन भिलेन शक्तिशाली हुनुपर्छ भन्ने मान्यतालाई ‘प्रसाद २’ले पूरापुर आत्मसात् गरेको छनक देखिन्छ । ट्रेलरमा विपिन र अर्पणबीच गजबको टक्कर छ ।
‘प्रसाद २’, २०७५ सालको समीक्षात्मक र व्यावसायिक दुवै हिसाबमा सफल ठहरिएको ‘प्रसाद’को फ्रेन्चाइजी हो । यसैले फिल्मप्रति उच्च अपेक्षा छ । एकातिर फिल्ममा विपिन कार्की, अर्पण थापा, केकी अधिकारी जस्ता अभिनयका धुरन्धरहरु छन् अनि अर्कोतिर लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका सुदर्शन थापाको निर्देशन छ, ‘प्रसाद २’ सफल हुनसक्ने यी ठूला आधार हुन् ।
सुभाष थापा प्रस्तुतकर्ता र सुदर्शन बस्नेत निर्माता रहेको यो फिल्ममा राजेश श्रेष्ठको छायांकन, विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको शब्द रचना तथा संगीत र शैलेस श्रेष्ठको ब्याकग्राउन्ड स्कोर छ । रंग पत्रकार सुशिल पौडेलले फिल्मको कथा, पटकथा तथा संवाद तयार पारेका हुन् । आगामी चैत २४ गतेबाट फिल्म प्रदर्शनमा आउने तयारीमा छ ।

