प्रमोद कँडेलको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बहाव’को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी चैत २४ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा समावेश ‘यो मन रोग’ गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द तथा सुशान्त गौतमको संगीत रहेको छ । फिल्मकी मुख्य पात्र अभिनेत्री सुरक्षा पन्तको खुसी, निराशा र छटपटीको भावलाई गीतमा प्रस्तुत गरिएको छ ।
गीतको पृष्ठभूमिमा देखाइएको पानीको बहावजस्तै कथाले पनि सुरक्षा पन्तको जीवनमा आउने बहावलाई देखाएको प्रमोदले बताए । ‘बहाव नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह हो । फिल्ममा दुई पात्रबीचको अन्तद्वन्द्वपछिको विद्रोहलाई सुरक्षाको चरित्रमार्फत् देखाउन खोजेका छौं’, उनले स्पष्ट पारे । फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’मा आधारित छ ।
फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, इश्वरी सिंह, हीरालाल कँडेल, सुर्य शर्मा भट्ट र पवन श्रेष्ठको पनि अभिनय छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि फिल्म ‘गोपी’ निर्माण गरेका थिए । निर्माता पौडेलले आफ्नो स्वन्त्रता आफैंमा कैद गर्नेहरुका लागि मार्गप्रशस्त गर्ने कथामा फिल्म बनेको बताए ।
सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको यस फिल्ममा अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । फिल्मलाई आरआर फिल्म्स (रोहित-रत्न)ले वितरणको जिम्मा लिएको छ । निर्देशक कँडेलका अनुसार फिल्म सत्य कथाबाट प्रभावित भएर निर्माण भएको हो ।

