फिल्म ‘छड्के २’को बक्सअफिसमा अकल्पनीय दुर्घटनाले नेपाली फिल्म क्षेत्र नै स्तब्ध बनेको छ । किनकि, यो फिल्मप्रति व्यावसायिक अपेक्षा उच्च थियो । त्यसको कारण एउटै थियो, फिल्ममा ‘मेगास्टार’ कहलिएका अनमोल केसी थिए । उनी भएपछि बक्सअफिसमा आँधी आउने आँकलन गरिन्थ्यो । उनको नामैले फिल्म प्रदर्शनको दुई/चार दिन हलमा दर्शकको मेला लाग्छ भनिन्थ्यो । तर, ‘छड्के २’मा यी केही भएनन् । फिल्मको एउटा शो समेत हाउसफुल हुन सकेन ।
मल्टीप्लेक्सहरुले दर्शकको चर्को खडेरीका कारण फिल्मलाई प्रदर्शनको ५/६ दिनमै हटाए । अनमोलका फिल्म मल्टीप्लेक्समा एक हप्ता पनि टिक्न नसकेको यो पहिलो पटक हो । र, ‘छड्के २’ कन्टेन्ट र व्यावसायिक दुवै हिसाबले उनको करिअरकै सबैभन्दा कमजोर बन्न पुगेको छ । फिल्म नचलेपछि अनमोलले शुक्रबार सामाजिक सञ्जालमा एक नोट लेख्दै नवौं फिल्मसम्म आइपुग्दा आफू परिपक्व हुनुपर्नेमा त्यसमा चुक्न पुगेको स्वीकारोक्ति व्यक्त गरे । अबको फिल्ममा दर्शकलाई निराश नबनाउने उनले वाचा गरेका छन् ।
‘छड्के २’का लागि अनमोलले ५० लाख पारिश्रमिक लिएको चर्चा छ । यति ठूलो पारिश्रमिक निर्माताले उनको स्टारडमलाई तिरेका थिए । तर, दुर्भाग्य ! फिल्मले एक हप्तामा ३० लाखको कलेक्सन पनि गर्न सकेन । यसले अनमोलको स्टारडममाथि नै ठूलो प्रश्न उठाएको छ । तर, अनमोलले आफ्नो नोटमा ‘छड्के २’ असफल हुनुको दोष न आफूले लिएका छन् न निर्देशक तथा लेखक निगम श्रेष्ठलाई दिएका छन् । आखिर यसको दोषको भारी कसको थाप्लोमा बढी पर्छ ?
.jpg)
‘मंगलम’ फेम्ड निर्देशक नवल नेपाल ‘छड्के २’ असफल हुनुको दोष नैतिक हिसाबले निर्देशकले लिनुपर्ने धारणा राख्छन् । ‘नैतिक रुपले त्यसको दोष निर्देशकले नै लिनुपर्छ । किनकि, हरेक ठाउँमा निर्णय गर्ने अधिकार निर्देशकसँग हुन्छ,’ उनी अनमोलबारे टिप्पणी गर्दै भन्छन्, ‘उहाँले ७/८ वटा एकै कलरका फिल्महरु गर्नुभयो । यही क्यारेक्टरलाई निरन्तरता दिनुको सट्टा अलिकता ‘टर्न’ गर्छु भनेर उहाँले फरक क्यारेक्टरमा ‘एक्सपेरिमेन्ट’ गर्न खोज्नुभयो । उहाँको यो आँट सकारात्मक छ तर त्यो आँटलाई दर्शकले स्वीकार गरेनन् । त्यसकारण प्रमुख रुपमा निर्देशकको नै गल्ती भए पनि अनमोल पनि भागिदार भने हुन् ।’
‘छड्के २’ व्यावसायिक रुपमा असफल हुनुलाई उनी अनमोल त्यसखालको क्यारेक्टर गर्न परिपक्व नभैसकेको सन्देशको रुपमा लिन्छन् । तर, ‘छड्के २’को असफलताले अनमोलको करिअरमा कुनै धक्का नलाग्ने उनको तर्क छ । ‘भोलि उहाँले अब्बल कन्टेन्ट र स्क्रिनप्लेमा अब्बल काम गर्नुभयो भने यी सबै कुरा विर्सिएर जान्छन् । हामी नेपालीहरुको संस्कार नै यही हो । राम्रो काम गरेर पेश भइयो भने अघिल्ला गल्तीहरु मेटिएर जान्छन् । त्यसैले म उहाँको आगामी दिनहरु नराम्रो देख्दिनँ । एकदमै राम्रो देख्छु । तर, अब उहाँले कुन चरित्र गर्दाखेरि न्याय गर्न सक्छु भनेर चाहिँ सोच्छु पर्छ,’ उनको सुझाव छ ।
नेपाली फिल्मका पटकथा तथा संवाद लेखक प्रदीप भारद्वाज ‘छड्के २’ असफल हुनुमा निर्देशक र अनमोल दुवै पक्षलाई दोषी मान्छन् । उनी भन्छन्, ‘अनमोललाई क्यारेक्टर मन परेर फिल्म गरेको हो । तर, स्क्रिप्ट बुझ्न नसक्नु उसको दोष हो । र, स्क्रिप्ट राम्रो नलेख्नु र निर्देशन राम्रो नहुनु निर्देशकको दोष हो ।’ तर, एउटा फिल्म नचल्दैमा अनमोलमाथि सबै दोषको भारी थोपर्नु गलत हुने उनको धारणा छ ।
स्टारडमले फिल्म चल्छ भने बुझाइलाई ‘छड्के २’ले एकपटक फेरि गलत सावित गरेको भारद्वाज बताउँछन् । ‘कलाकारको स्टारडममा मात्र भर परेर फिल्म बनाउनु हुँदैन । कन्टेन्ट बलियो चाहिन्छ,’ उनी अगाडि भन्छन्, ‘फिल्म भनेको टिमवर्क हो । हाम्रो शरीरको कुनै भागमा चोट लाग्यो भने पूरै शरीरमा दुखाई महसुस हुन्छ । फिल्ममा पनि सबै अंगहरुले काम गर्नुपर्छ ।’
त्यस्तै, फिल्म समीक्षक तथा स्क्रिप्ट राइटर सामीप्यराज तिमल्सिना ‘छड्के २’ असफल हुनुको मुख्य दोषी निर्देशकलाई मान्छन् । ‘फिल्म भनेको निर्देशकको माध्यम हो । तर, मिडियादेखि निर्मातासम्मले ‘फिल्म भनेको अनमोल हो र अनमोल भनेको फिल्म हो’ भन्ने बुझाइ बनाए । अनमोलले पनि ‘फिल्मको म सानो हिस्सा मात्र हुँ’ भनेर बुझेको भए पनि समस्या हुँदैन थियो । उसलाई ‘फिल्म भनेकै म हुँ’ भन्ने हिसाबले प्रशिक्षित गरियो र उसले पनि त्यसलाई आत्मसात् गर्यो । त्यो चाहिँ गलत थियो । त्यसैले फिल्म असफल हुँदा उसलाई असर त गर्ने नै भयो, किनकि ऊ ठूलो स्टार हो । तर, मिडियमको हिसाबले पहिलो दोष निर्देशकलाई जान्छ । निर्देशक असफल भएको हो,’ उनले भने ।
‘छड्के २’मा अनमोलले बुझेको पारिश्रमिक र मेगास्टार भनेर गरिएको प्रचारलाई हेर्दा चाहिँ उनी अनमोल असफल भएको मान्छन् । ‘मेगास्टार भनेर जुन चिजमा अनमोल रमाइरहेका छन्, त्यो हिसाबले चाहिँ ‘छड्के २’को असफलताको दोष उनले पनि लिनुपर्छ,’ समीक्षक तिमल्सिनाको तर्क छ, ‘क्रियटिभ्ली हेर्ने हो भने निर्देशक (निगम श्रेष्ठ) असफल भएको हो र प्याकेजमा हेर्ने हो भने अनमोल असफल हो ।’

